News

भारतिय सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार निजी घर पुनर्निर्माण

भारतिय सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार निजी घर पुनर्निर्माण

भारत सरकारको सहयोगमा गोरखा र नुवाकोट जिल्लामा भूकम्पले क्षती भएका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएका छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र विपद् प्रतिरोधी ढाँचाका घर पुनर्निर्माण भएको बताए ।

दुई जिल्लामा भारतको सहयोगमार्फत् निर्मित ५० हजार घरहरूको समापन समारोह तथा परियोजनाबाट सिकेका पाठ–अनुभवबारे सोमबार कार्यक्रम आयोजना गरिएको थियो । यस अवसरमा ज्ञवालीले भूकम्पपछिको निर्माणमा भारतले गरेको सहयोगको लागि धन्यवाद दिए ।


भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले भारत सरकारले प्रतिवद्धता जनाए अनुरुप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धति अनुसार सम्पन्न भएको बताएकी थिइन्।

गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मार्चमा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई यस परियोजनामा संलग्न गराएको थियो ।

१०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलरसहित ५० हजार घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्पपछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिवद्धता जनाएको थियो ।

२०७२ सालको भूकम्पबाट प्रभावित नेपालका ११ जिल्लामा ७१ वटा शिक्षा क्षेत्रसँग सम्बन्धित परियोजना, १३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदा स्थलको पुनर्स्थापना÷प्रबलीकरणका लागि भारत सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको भारतीय दूतावासले जनाएको छ । 

भारतिय सहयोग घर पुनर्निर्माण

विशेष