News

राष्ट्रपति भण्डारीमाथि नेपाललाई तिब्बत बनाउन थालेको आरोप

राष्ट्रपति भण्डारीमाथि नेपाललाई तिब्बत बनाउन थालेको आरोप

नेपाल डेमोक्रेट युनियनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि ‘नेपाललाई तिब्बत बनाउन थालेको’ आरोप लगाएको छ। कार्तिक ६ गते राष्ट्रपति भण्डारी भैरहवा विमानस्थल पुग्दा चीनको झण्डा फहराइएको घटनाप्रति लक्षित गर्दै युनियनले यस्तो आरोप लगाएको हो ।

युनियनका अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै उक्त घट्नाको विरोध गरेका छन। नेपालको विमानस्थलमा टाढैबाट देखिने गरी झन्डा नियमित फहराउनुलाई संयोग मात्र मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ। 

‘प्रजातन्त्रप्रेमी एवं राष्ट्रवादी नेपाली जनता चीनको उक्साहट र सक्रियता तथा नेपाली कम्युनिष्टहरुको समर्थनमा भएको यस राष्ट्र विरोधी कार्यलाई कदापी सहन तयार छैनन्’ विज्ञप्तिमा भनिएको छ–‘चीनियाँ कम्युनिष्ट पार्टीको नेपाल प्रतिनिधीले पहिला–पहिला नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा हामीले विरोध गरेका थियौं। तर उनी त नेपाललाई तिब्बत पो बनाउन थालेकी रहेछन।’

राष्ट्रपति वा उनको कार्यालयले विरोध नगरेकोबाट घटना राष्ट्रपतिको निम्ति आपत्तिजनक नभएर स्वीकार्य र स्वागतयोग्य रहेको प्रमाणित भएको विज्ञप्तिमा उल्लेख छ।

‘त्यसरी चिनियाँ झण्डा फहराएर गरिएको स्वागतलाई राष्ट्रपति भण्डारीले जसरी सहजतासाथ स्वीकार गर्नुभयो, त्यो देश प्रतिको गद्दारीको सबैभन्दा ठूलो र ज्वलन्त प्रमाण हो भन्ने हाम्रो ठहर छ । आजको मितिसम्म पनि राष्ट्रपति वा उहाँको कार्यालयले उक्त घटनाको विरोध नगरेकोबाट सो घटना राष्ट्रपतिको निम्ति आपत्तिजनक नभएर स्वीकार्य र स्वागतयोग्य रहेको प्रमाणित भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

युनियनले नेपाललाई कम्युनिष्ट चीनको पोल्टामा हाल्ने नेपाली कम्युनिष्टहरुको चाहना, चौतर्फी प्रयास र साझा षडयन्त्रलाई राष्ट्रपतिको पदमा रहेर पनि पार्टी राजनीति गर्न तत्पर रहने विद्यादेवी भण्डारीको माध्यमबाट यस घटनाले उदांग पारेको पनि जनाएको छ । त्यस्तै युनियनले राष्ट्रपतिको अक्षम्य अपराध र गद्दारी गरेको भन्दै सरकारले राष्ट्रपति भण्डारीलाई महाभियोग मार्फत तत्काल अपदस्थ गर्न माग समेत गरेको छ । 

विमानस्थल श्रोतले भने चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको उक्त विमानस्थलमा कामदारहरुले आफ्नो देशको झन्डा राखेको जनाएको छ ।

चिनियाँ कामदारहरुले कार्यालय, कोठा र बैठक कक्षमा समेत चिनियाँ झन्डा राख्ने गरेका छन्। कार्तिक ६ गते विमानस्थलमा बुद्धको मूर्ति अनावरणका क्रममा नेपालसहित चीन र स्पेनको झन्डा राखिएको थियो । 
 

नेपाल डेमोक्रेट युनियन

विशेष