News

परमादेश जारी गर्ने चार न्यायाधिशलाई किन जोगाउन खोज्दैछन् शम्भु थापा ?

परमादेश जारी गर्ने चार न्यायाधिशलाई किन जोगाउन खोज्दैछन् शम्भु थापा ?

वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतवाट परमादेश जारी गर्ने प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जवरावाहेक अन्य चार न्यायाधिश भ्रष्टाचारमा संलग्न नभएको दावी गरेका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै जारी नेपाल बार एसोसिएसनको आन्दोलनलाई सम्वोधन गर्दै उनले यस्तो दावी गरेका हुन ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशसँगै असार २८ गते प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्ने पाँचै जना न्यायाधीशको राजीनामा मागेपछि उनले यस्तो तर्क गरको हुन ।

कात्तिक ९ गते एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका थिए । ‘पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि आज सर्वोच्च अदालतमा समस्या देखिएको छ। श्रीमान् न्यायाधीशहरुले कस कसले के गर्नु भएको थियो । अलि खुलेको छ,’ अध्यक्ष ओलीले भनेका थिए– ’एक जना मात्रै होइन परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेको होइन । एक जना मात्रै किन राजीनामा गर्नु भएको छ ? पाँचै जनाले राजीनामा गर्ने होइन? सर्वसम्मत निर्णयको सुगन्ध र दुर्गन्ध के थियो ?’

ओलीले बार र वकिलले संसद् विघटनको समयमा इजलास तोक्ने काम गरेको आरोप पनि लगाएका थिए। ‘यो न्यायाधीश राख्नु हुन्छ, यो न्यायाधीश राख्नु पर्छ भन्ने। बस्छु भन्नेलाई हटाएको होइन ? बार र वकिलले बेन्च गठन गर्ने काम भयो,’ उनले भनेका थिए’– हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको छ ।’

ओलीको उक्त तर्कको खण्डन गर्दै वरिष्ठ अधिवक्ता थापाले उनीहरूको भ्रष्टाचारको प्रमाण जुटाउन चुनौती दिए। ‘परमादेश दिए त्यसकारण राजीनामा ! के भन्या त्यो ? तपाइँले नै संसद् चाहिँदैन भन्नुभयो । संसद् चाहिँदैन भनेपछि तपाइँ नै प्रधानमन्त्रीको रूपमा रहनुभएन त हामी के गरौं ?’ वरिष्ठ अधिवक्ता थापाले ओलीलाई लक्षित गर्दै सोधेका छन् ।

ओली आफ्नै कारण प्रधानमन्त्रीबाट पदमुक्त भएको भन्दै थापाले भ्रष्टाचार, विकृति र विसंगतिको विषयलाई लिएर प्रधानन्यायाधीशको राजीनामा मागिएको अवस्थामा परमादेश नजोड्न सुझाव दिए ।

उनले थपे–‘ओलीले संसद् चाहिएन भने अनि अदालतले प्रधानमन्त्री पनि नबस्नुस् भनिदियो । यो धेरै केही कुरा भनेको त होइन । तर, उहाँले नै संसद् चाहिँदैन भनेको हो । यो राजनीतिक कुरा हामी छुँदैनौं। पाँचजनाको राजीनामा माग्ने ? भन्नुस् चार जना पनि घुसमा लिप्त छन् । आज कुरा गरौं न त । न्यायाधीशहरू दीपककुमार कार्की, मीरामैया खड्का, आनन्दमोहन भट्टराई र इश्वरप्रसाद खतिवडा चारजना पनि छन् भन्ने प्रमाण ल्याउनुस् न त ।’
 

शम्भु थापा सर्वोच्च अदालत केपी शर्मा ओली चोलेन्द्रशमशेर जवरा

विशेष