News

योग गुरु रामदेव प्रचण्डलाई भेटेपछि क्रान्तिकारी भए की पहिलै थिए ?

योग गुरु रामदेव प्रचण्डलाई भेटेपछि क्रान्तिकारी भए की पहिलै थिए ?

पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन नेपाल आएका भारतिय योग गुरु रामदेवको कार्यक्रममा पुग्न शुक्रवार मन्त्री र नेताहरुको लर्को लाग्यो।

काठमाडौंको मण्डिखाटारमा आयोजित पतञ्जली नेपाल टेलिभिजन र आस्था टेलिभिजनको औपचारिक उद्घाटन कार्यक्रममा अधिकांश प्रमुख दलका नेताहरु पुगे। यतिमात्र होईन, नेताहरुले रामदेवको प्रशंसा गर्ने नाममा ‘क्रान्तिकारी र वैज्ञानिक’ भनिदिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामदेव र आचार्य बालकृष्णलाई ‘थ्री इन वान’ भन्दै तारिफ गरे। योगगुरू रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतातर्फ लगेको उनले वताए ।

प्रचण्ड यतिमा मात्र रोकिएनन्। उनले रामदेवलाई क्रान्तिकारी र वैज्ञानिक समेत भन्न भ्याए । ‘रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागे पनि अहिले क्रान्तिकारी र वैज्ञानिक हुनुभएको छ’– उनले भने।

‘पहिलादेखि नै बाबा रामदेवसँग मेरो सान्निध्यता भयो, नजिक भयौं, छलफल गर्न थाल्यौं, कताकता मलाई पहिला लाग्थ्यो उहाँ अलि बढी रुढीवादी, परम्परावदी हुनुहुन्छ होला भन्ने लाग्थ्यो, तर छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदो रहेछ’, अध्यक्ष दाहालले भने, ‘त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो, उहाँले योगलाई नयाँ क्रान्ति मार्ग प्रदर्शन गर्नुभयो, योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो। आरोग्यताबाट महाउद्योगको उत्पादनतिर र सञ्चालनतिर लाग्नुभयो। त्यसकारण बाबा रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान हुनुभयो।’

बाबा रामदेव र आचार्य बालकृष्णसँगको कुराकानीमा नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको पनि वताए । ‘हिजो खुमलटारमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा क्रान्ति ल्याउने उपायबारे हिजो छलफल भएको छ। ‘हरिद्वारमा उहाँले हात समातेर मलाई लैजानु भयो जडीबुटीको कारखाना देखाउनु भयो। ती जडीबुटी त सबै नेपालबाट जाँदा रहेछन्।’

यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाका कारण आफूले पलेटी कस्न सकेको भन्दै त्यसैमा सन्तुष्टि जनाए। ‘पहिले धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न सक्दिनथेँ’ उनले भने–‘पछि योगाभ्यासले नै सहज बनायो, अहिले मज्जाले पलेँटी कसेर बस्न सक्छु ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले भने संसारमा सबै खालका औषधिको दुस्प्रभाव (साइड इफेक्ट) देखिएको तर आयुर्वेदिकको अहिलेसम्म त्यस्तो साइड इफेक्ट नभएको उल्लेख गरे।
 
कार्यक्रममा प्रधानमन्त्री देउवाले अध्यात्मसम्बन्धी दुई वटा टेलिभिजन च्यानलको उद्घाटन गरे। योग गुरु रामदेवले पतञ्जलीका कर्मचारीका लागि बनाइएको आवास ‘पतञ्जली सेवा सदन’ सँगै ‘स्वदेशी समृद्धी कार्ड’ को पनि उद्घाटन गरे। 

क्रान्तिकारी पतञ्जली योगपीठ योग गुरु रामदेव

विशेष