News

रामदेवको चाकरी गर्न देउवा र प्रचण्डले गैरकानुनी टिभी उद्घाटन गरेः रावल

रामदेवको चाकरी गर्न देउवा र प्रचण्डले गैरकानुनी टिभी उद्घाटन गरेः रावल

विदेशी पाहुनाका अगाडि राम्रो देखिने नाममा देशका प्रधानमन्त्री तथा सत्ता गठवन्धनका शिर्ष नेताहरुले नै कानुनको धज्जी उडाउन थालेका छन् । सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नलिएका दुई टीभी च्यानल प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्नु र सोही कार्यक्रममा राजनीतिक दलका नेताहरुको लर्को लाग्नुले यो कुरालाई पुष्टि गरेको छ ।

प्रधानमन्त्री देउवाले शुक्रवार पतञ्जली नेपालले सञ्चालनमा ल्याएका दुई टीभी च्यानल—आस्था नेपाल र पतञ्जली नेपालको उद्घाटन गरे। ति दुवै च्यानलले प्रशारण अनुमती पत्र नलिएको पाईएको छ ।

नेपालमा टेलिभिजन प्रसारणका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ। विभाग स्रोतका अनुसार पतञ्जलीले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र लिएको छैन। 

विभागका एक उच्च अधिकारीले यी दुई टीभी च्यानलले प्रसारणका लागि स्वीकृति नपाएको बताए। दुवै च्यानलले प्रशासरणका लागि अनुमतिका लागि आवेदन समेत नदिएको विभागका ती अधिकारीले वताए।

भारतको लगानीमा आस्था नेपाल र पतञ्जली नेपाल नामका दुई टेलिभिजन च्यानल सञ्चालनमा आएका हुन्। आचार्य बालकृष्ण र रामदेवको लगानी रहेको भारतको हरिद्वारस्थित पतञ्जली आयुर्वेदले नेपालमा टीभी ल्याएको हो। आचार्य बालकृष्ण पतञ्जलीका अध्यक्ष हुन्। 

मण्डिखाटारस्थित पतञ्जली नेपालको आश्रममा नै यी दुई टीभीका कार्यालय स्थापना गरिएका छन्। यी दुई टीभीमा कति लगानी छ भन्ने स्पष्ट खुलेको छैन। दि इन्डियन एक्सप्रेस दैनिकले यी दुई च्यानल सञ्चालनमा दस हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ।

गैरकानुनी रुपमा सञ्चालन गर्न थालिएको टीभी च्यानल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त रामदेव वावालाई क्रान्तिकारी र वैज्ञानिक समेत भन्न भ्याए । 
कार्यक्रममा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि जनता समाजवादी पार्टीका संयोजक उपेन्द्र यादव र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधि, कृष्ण सिटौला, चित्रलेखा यादव र सुजाता कोइरालासम्मको लर्को लागेको थियो ।

यस विषयमा नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पनि आलोचना गरेका छन् । ‘प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टीभी भारतिय योगगुरूलाई सञ्चालन गर्न दिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो’ उनले ट्वीटरमा लेखेका छन्–‘यस्तै दृष्टी र मानसिक्ता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।’

पतञ्जली नेपाल

विशेष