News राजनीति

एमालेको प्रतिनिधि छनौटमा चरम असन्तुष्टी : कतै राजिनामा, कतै प्रदर्शन

एमालेको प्रतिनिधि छनौटमा चरम असन्तुष्टी : कतै राजिनामा, कतै प्रदर्शन

नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् रुपन्देही ४ का सहइन्चार्ज ओमप्रकाश यादव (गुल्जारी)ले शनिवार आफ्नो पदबाट राजीनामा दिए। पूर्व कृषिराज्यमन्त्रीसमेत रहेका यादवले महाधिवेशन प्रतिनिधि छनोट हुन नपाएपछि सवै पदवाट राजिनामा दिएका हुन ।

जिल्ला अध्यक्ष शिवराज सुवेदीले व्यक्तिगत रीसइबीका कारण महाधिवेशन प्रतिनिधि हुन रोकेकाले असन्तुष्टि जनाउँदै उनले राजिनामा दिए र प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्नसमेत आग्रह गरे।

यसैगरी, स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढङ्गले महाधिवेशन प्रतिनिधि छनौट गरेको भन्दै असन्तुष्ट पक्षले शनिवार जनकपुरधाममा विरोध प्रदर्शन नै गर्यो । एमालेको प्रदेशका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा पूर्व मन्त्रीसमेत रहेका महासेठको विरुद्धमा जनकपुरधाममा नाराबाजीसहित प्रदर्शन गरिएको हो ।

प्रतिनिधि छनौटमा महासेठले गुटबन्दी गरेको र आसेपासे तथा नातागोतालाई मात्र छनौट गरेको आरोप छ। महासेठले एमालेका प्रमुख सचेतक किशोरी साह र माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतलाई बेवास्ता गरेको असन्तुष्ट पक्षहरूको भनाइ छ ।

अर्कोतर्फ इटहरीका मेयर द्वारिकालाल चौधरीले पार्टीमा ‘टीके प्रथा’ भएको भन्दै गुनासो गरेका छन् । सुनसरी क्षेत्र नम्बर २ बाट सर्वसम्मत छनोट गरिएका प्रतिनिधिमा नपरेपछि चौधरीले सामाजिक सञ्जालबाट असन्तुष्टी पोखेका हुन् । ‘जबसम्म टीके प्रथाबाट प्रतिनिधि चयन बन्द हुँदैन, तबसम्म पार्टी सदस्यहरूको हक र अधिकारको उचित व्यवस्थापन हुँदैन’– उनले लेखेका छन् ।

केही दिनअघि नेकपा एस प्रदेश समिति अध्यक्ष बलदेव चौधरीसँग तस्बिर खिचाएका चौधरीले नेकपा एसका अध्यक्ष माधव नेपाल र मुख्यमन्त्री राजेन्द्र राईसमेत घरमा भेटघाट गरेपछि एमालेले उनलाई शंकाको दृष्टिले हेरेको छ । त्यही शंकाको कारण उनी महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुन नसकेको एमाले नेताहरू बताउँछन् ।

यी प्रतिनिधि घट्ना हुन्। प्रतिनिधि छनौटका विषयलाई लिएर एमालेमा चरम असन्तुष्टि वढिरहेको छ। सर्वसम्मत अध्यक्ष बनेर राष्ट्रिय राजनीतिमा पुरानै शक्तिका साथ उदाउने ओलीको तयारी अनुसार देशैभर प्रतिनिधि छनौटको रुप यस्तै नै छ। यस पटक झण्डै ९० प्रतिशत प्रतिनिधि ओलीलाई ‘आइ लभ यू केपी बा’ भन्नेहरु छन् । पार्टी भित्र फरक विचार राख्ने ‘१० भाइ’ समूह र पूर्वमाओवादी पक्ष प्रतिनिधि छनौटमै पछि परेका छन् ।

पूर्वमाओवादी समूहले त प्रतिनिधि चयनमा ओलीपक्षले धोका दिएको बताउन थालेको छ । उक्त समुहले वरिष्ठ उपाध्यक्षसहित कम्तिमा दुई दर्जन केन्द्रीय सदस्य पाउनुपर्ने माग गरेको छन् । तर, अध्यक्ष ओली भने यस्ता गुनासा सुन्ने मनस्थितिमा छैनन्। बरु उनले आफ्नो रोडम्याप प्रष्ट पारिसकेका छन्। ओलीले अध्यक्षसहित १५ जना केन्द्रीय पदाधिकारीको लिष्ट बनाइसकेका छन् ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बाहेकका पदमा ‘१० भाइ’ र पूर्वमाओवादी समूहलाई केही स्थान दिने गरी ओलीले तयार भएका छन् । सकेसम्म सर्वसम्मत गर्ने नभए जसले चुनौती खडा गर्छ उसलाई पत्तासाफ पार्ने ओलीको तयारी छ।

एमालेले पहिले १६ सयको हाराहारीमा प्रतिनिधि छान्ने निर्णय गरेरपछि १९ सय ९९ पुर्याएको थियो । मंसिर ११ गतेसम्म उक्त संख्या २२ सय पुग्नसक्ने ती नेताको भनाइ छ । जसमध्ये ‘१० भाइ’ समूहबाट बढीमा ५ देखि ७ प्रतिशत प्रतिनिधि छानिन सक्ने बालकोटको अनुमान छ । त्यो भनेको करिब दुई सय जना हो ।

पूर्वमाओवादी समूह २२ सय प्रतिनिधि छानिँदा २ देखि ४ प्रतिशतमा रहेको आकलन गरिएको छ । यो संख्या स्वयम् पूर्वमाओवादीका नेताहरुले नै स्वीकार गरेका छन् ।

नेकपा एमाले प्रतिनिधि छनोट

विशेष