News अपराध सुरक्षा

विराटनगरमा गुण्डागर्दीलाई संस्थागत गर्न अभिषेक गिरीलाई मोरङ कारागार सरुवा !

विराटनगरमा गुण्डागर्दीलाई संस्थागत गर्न अभिषेक गिरीलाई मोरङ कारागार सरुवा !

विराटनगरलगायत मोरङ क्षेत्रमा गुण्डागर्दीलाई संस्थागत गर्न गृहमन्त्री वालकृष्ण खाँडले अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय काटिरहेका अभिषेक गिरीलाई मोरङ कारागार पठाएका छन् ।

मोरङ कांग्रेसका नेताहरूकै दवावमा गिरीलाई मोरङ कारागार पठाईएको हो । गुण्डागर्दीको एकछत्र राज गरिरहेका पर्शुराम वस्नेतका गतिविधिमा निगरानी राख्न र त्यसलाई नियन्त्रण गर्न गिरीलाई सरुवा गरिएको हो ।

गिरीलाई यसअघि पनि मोरङ कारगार सरूवा गरिएको थियो। तर, यो जानकारीपछि कैदीबन्दीले आन्दोलन गरेरपछि उनलााई सप्तरी कारागार पठाइएको थियो । गत कात्तिक १६ गते गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ पठाइएको थियो। तर, कैदीबन्दीले प्रवेश नदिएपछि सप्तरी कारागार पठाइएको हो। 

कारागार व्यवस्थापन विभागले शुक्रबार फेरी पनि गिरीलाई मोरङ नै फर्काउने निर्णय गरेको छ। गृह नेतृत्वको दबाबमा गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ पठाउने निर्णय गरेको थियो।

तत्काल विरोध भएपछि कारागार व्यवस्थापन विभागले त्यो निर्णय कार्यान्वयनमा ल्याएन। दुई महिनापछि विभागले गिरीलाई विराटनगर पठाएरै छोडेको थियो। गिरीलाई मोरङ्ग पठाउने यो तेस्रो प्रयास हो। 

कांग्रेसनिकट गिरी विराटनगर देवकोटा चोकका स्थानीय हुन्। मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो।

गिरीलाई कांग्रेस नेतृत्वमा सरकार बनेलगत्तै मोरङ कारागार पठाउन स्थानीय नेताहरूले गृहमन्त्री बालकृष्ण खाणसँग ‘लबिङ’ सुरू गरेका थिए। पहिले मोरङ कारागारमा रहँदा गिरी चौकीदार थिए। चौकीदारले जेलभित्र राम्रो आम्दानी गर्छन्।

युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जना पक्राउ परेका थिए । गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए। रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो। रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए।

यही प्रकरणमा गिरी जेलमा छन्। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको छ।

पछिल्लो पटक पक्राउ पर्नुअघि २०६९ सालमा उनी कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए।

२०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएका थिए। विराटनगरमा आपराधिक गतिविधि चलाउने पर्शुराम बस्नेत र गिरी दुबै समूह टेण्डर लुट्न गएकोमा यादव मारिएपछि गिरी पक्राउ परे।

तर, आफ्नै समूहका एक जनाले घटनाको जिम्मेवारी लिँदै अदालतमा बयान दिएपछि गिरीले २०६९ सालमा सफाइ पाएका थिए।

सफाइ पाएर छुटेको केही महिनामै पक्राउ परेका गिरी त्यसयता लगातार ८ वर्षयता जेलमा छन्।

करण यादवको हत्यामा केन्द्रीय कारागारमा रहँदा पनि उनी आपराधिक गतिविधिमा सक्रिय नै थिए।

काठमाडौंका व्यवसायी ध्यानगोविन्द वैद्यको अपहरणमा योजना बनाएको खुलेपछि केन्द्रीय कारागारबाट उनलाई नुवाकोट सारियो। तर त्यहाँबाट पनि उनले अपराध छोडेनन्।

नुवाकोट जेलमै रहेका सशस्त्र समूहका छोटा राजन समूहसँग मिलेर कल बाइपास गरी मोरङका व्यापारीलाई धम्क्याउँदै पैसा मागेको आरोप गिरीलाई लाग्यो। प्रहरीले जेलमा छापा मार्दा कल बाइपासका सामग्री फेला पारेको थियो।

उनको अपराध त्यहाँ पनि नरोकिएपछि उनलाई मोरङ कारागार नै पठाउने योजना भयो। तर, मोरङ कारागारले राख्न नमानेपछि गिरीलाई सुनसरीको झुम्कास्थित कारागारमा राखिएको थियो।

०६६ साल फागुन महिनामा जेलबाटै मान्छे खटाएर गिरीले पर्शुरामलाई गोली हान्न लगाए। दुई महिना लामो सघन उपचारपछि पर्शुराम तंग्रिए।

त्यसको ‘बदला’ लिन पर्शुराम समूहले २०६८ साल जेठ १८ गते पेशी बयानमा जिल्ला अदालत मोरङ ल्याउँदा गिरीलाई आक्रमण गरे। पर्शुराम समूहले आक्रमण गर्दा गिरी घाइते भएका थिए, अदालतभित्र प्रहरीले गोली चलाएको थियो।

वालकृष्ण खाँड अभिषेक गिरी पर्शुराम वस्नेत पर्शुराम बस्नेत

विशेष