News

प्रचण्डको प्रस्ताव विप्लवले नकारे, भने– तत्काल एकताको सम्भावना छैन

प्रचण्डको प्रस्ताव विप्लवले नकारे, भने– तत्काल एकताको सम्भावना छैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आज पार्टी एकताका विषयमा छलफल भएको छ।

प्रचण्डलाई भेट्न शनिबार बिहान विप्लव खुमलटार पुगेका हुन् । भेटमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए । महरा पछिल्लो समय विप्लवसँग नियमित छलफलमा छन्। उनले पार्टी एकताको प्रयास पनि गरिरहेका छन्।

प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको खुमलटार स्रोतको दाबी छ । दुई नेताबीच कम्युनिस्ट ध्रुवीकृत गर्ने विषयमा कुराकानी भएको छ । दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेको खुमलटार स्रोत बताएको छ । 

प्रचण्डले पार्टी एकताका लागि पूर्व माओवादी नेतासँग छलफल भइरहेको सार्वजनिक रुपमै बताउँदै आएका छन् । उनले ढिलोचाडो पूर्व माओवादी एकै ठाउँमा हुने दाबी गरेका छन् । 

आजको भेटमा पनि ‘प्रचण्ड’ले ‘विप्लव’सँग सहकार्यको प्रस्ताव गरेका छन्। ‘मैले नेपालमा बृहत् कम्युनिस्ट एकता गर्न खोजेको थिएँ। ओलीसँग एकता गरेँ। तर सफल हुन सकिनँ। ओली बेइमान निस्किए,’ प्रचण्डको भनाइ उद्धृत गर्दै खुमलटार स्रोतले भन्यो, ’अब हामी मिलेर सहकार्य गरौँ।’

छलफलमा विप्लवले माओवादी केन्द्रसँग तत्कालै एकताको सम्भावनालाई नकारेका थिए। दुई नेताबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको बताएको छ। अन्तिममा भने तत्काल सहकार्य गर्दै एकतासम्म पुग्ने समझदारी भएको बताइएको छ।

माओवादी नेतृत्वमा भएको ’जनयुद्ध’मा दुई नेताबीच निकट सम्बन्ध थियो। तर शान्ति प्रक्रियामा आएसँग प्रचण्डसँग टाढिएका विप्लव २०६९ सालमा तत्कालीन एनेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य किरणतर्फ लागेका थिए। उनले २०७१ मंसिरमा किरण नेतृत्वको नेकपा–माओवादी पनि विभाजन गरी नेकपा गठन गरेका थिए। हिंसात्मक गतिविधिमा संलग्न भएपछि २०७५ फागुनमा सरकारले प्रतिबन्ध लगाएको थियो। दुई वर्षपछि २०७७ फागुनमा सरकारसँग तीनबुँदे सहमति गरेपछि प्रतिबन्ध हटेको थियो।

विप्लवले त्यो सहमति कार्यान्वयन नभएको विषयमा पनि प्रचण्डसँग छलफल गरेको वताईएको छ।
 

विशेष