नेपाल बारका तीन पदाधिकारीविरुद्ध गाली बेइज्जती मुद्दा

नेपाल बार एशोसिएसनका तीन पदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा सडक प्रदर्शन गर्दै आएको द हण्ड्रेड ग्रुपले मुद्दा दायर गरेको हो ।
ग्रुपका अध्यक्ष बब्लु गुप्ताले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई र महासचिव लीलामणि पौडेलविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन् । गत शुक्रबार ०७८–सीचार–१००७ नम्बरमा सो गाली बेइज्जती मुद्दा दर्ता गर्ने भएको हो ।
मुद्दा दर्ता भएको विषयमा काठमाडौं जिल्ला अदालतका कर्मचारीहरुले भने प्रतिक्रिया दिन मानेका छैनन्।
जिल्ला अदालतका एक कर्मचारीका अनुसार, बारका पदाधिकारीहरुले प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने विरुद्ध गरेको भाषणलाई लिएर गाली बेइज्जतीको मुद्दा दर्ता भएको हो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले गरेको आन्दोलनका क्रममा बार अध्यक्ष श्रेष्ठले जबरालाई विचौलियाको नाइकेलगायतका आरोप लगाएका थिए ।
बार पदाधिकारीहरुले ‘प्रधानन्यायाधीश जबराले सडकमा भिजिलान्ते र भाडाका व्यक्तिहरु प्रयोग गरेर आफूहरु विरुद्ध उचालेको’ आरोप लगाएका थिए ।
बब्लु गुप्ता संलग्न हन्ड्रेड ग्रुप कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका बेलामा विपन्नहरुलाई सडकमा खाना खुवाएका कारण चर्चित छ ।