News राजनीति

प्रचण्ड भन्छन्– केपी ओली जत्तिको ‘महान ठग’ नेपालमा अर्को छैन

प्रचण्ड भन्छन्– केपी ओली जत्तिको ‘महान ठग’ नेपालमा अर्को छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘महान ठग’ भनेका छन । नेपालमा केपी ओली जत्तिको महान ठग अर्को नभएको उनको जिकिर छ।

चितवनको टाँडीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओलीलाई ठगको संज्ञा दिएका हुन । ‘मान्छेलाई झूटो बोलेर भ्रम दिन र क्षणिकरूपमा ठग्न यत्तिको सिपालु मान्छे नेपालमा अर्को छैन’ उनले भने–‘मैले तीन वर्षसँगै बसेर के बुझेँ भने यति सफल ठग पनि नेपालमा जन्मेको रहेछ । केपी ओली ठगै हो भन्ने तपाईंहरूले जनतालाई बुझाउनुहोला ।’

हुन त केपी ओलीलाई प्रधानमन्त्री बनाउने को हो ? भन्दा आफुले नै जिम्मा लिनु पर्ने वताएका उनले भने–‘त्यसको नैतिक जिम्मेवारी मैले लिनुपर्ने होला । तर, महान ठगको फेला परियो भन्या ।’

चितवनमा ठूला विकासका काम हुन लाग्दा ओलीले भाँजो हाल्ने गरेको उनको दाबी छ । ‘शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने भनेपछि त्यहाँ माओवादीको गढ छ, प्रचण्डको हाइट बढ्छ भनेर त्यसलाई रोक्ने षड्यन्त्र गरे । नेपालकै ठूलो सभागृह बनाउन लाग्दा त्यसलाई पनि रोक्न हुनेसम्म प्रयास गरे’ उनले थपे–‘लड्दा–लड्दा बनाउन बाध्य बनाइयो, तर हत्त न पत्त आएर आफूले शिलान्यास गरेर मै हुँ जस्तो देखाउन खोजे । चितवनमा ठूला काम केही हुन थाले भने ओली भन्ने मान्छे त्यसलाई रोक्न पूरै तागत लगाउने ।’

ओलीले प्रधानमन्त्री छँदा सरकारी कर्मचारीलाई आफूसँग नजिक हुन नदिएको समेत प्रचण्डले गुनासो गरे ।

‘हुँदाहुँदा कतिसम्म भयो भने, कर्मचारी कोही प्रचण्डतिर हे-यो भने त्यसको औंला भाँचिदिन्छु भने ओलीले । आँखा फोर्दिने रे । सचिवहरू थररर । खुमलटार गयो भने त केपी ओलीले मार्छ भन्ने पर्ने । त्यस्तो बनाए हेर्नुस् ।’

‘मैले पनि आगोसँग खेलिस्, गइस् अब भनेको थिएँ गए । अति गर्नु, अतिचार नगर्नु भन्छन् नि । अतिचारै गरे क्या यी मान्छले । त्यसकारण अहिले केन्द्रबाट पनि हात धुनुप-यो, प्रदेशबाट पनि हात धुनुप-यो ।’
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष