कांग्रेसको दादागिरीः अधिवेशन गर्न परिक्षा भईरहेको विद्यालय वन्द
शैक्षिक संस्थामा नेपाली कांग्रेसको दादागिरी अझै रोकिएको छैन। काँग्रेसले अधिवेशनका लागि भन्दै पश्चिम सुर्खेतमा परिक्षा संचालन भईरहेको एउटा विद्यालय समेत वन्द गराएको छ।
कांग्रेसले पञ्चपुरी नगरपालिका–५ मा रहेको विद्याज्योति माध्यामिक विद्यालय बन्द गराइएको हो। नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले वताए।
अहिले उक्त विद्यालयमा त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । सापकोटाले मंगलबारको बिदालाई स्थानीय बिदाको रुपमा लिएको जानकारी दिए । ‘मेयरसाबले भनेअनुसार हामीले परीक्षा रोकेरै मंगलबार विद्यालय बन्द गरेका हौं’– उनले भने।
विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, दलगत राजनीति तथा अन्य सभा सम्मेलन गर्न नपाइने उल्लेख छ । निर्देशिकाको खिल्ली उडाउँदै काँग्रेसले विद्यालय नै बन्द गराएर पार्टीको अधिवेशन गराएपछि त्यसको चर्को आलोचना भईरहेको छ।
झण्डै १३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालय बन्द गराएर चुनाव गराईएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भईरहेको छ भने नेकपा माओवादी केन्द्रले विज्ञप्ति नै जारी गरेर उक्त कार्यको विरोध जनाएको छ।
