News राजनीति

विष्णु पौडेलको खुलासा : भीम रावलको उम्मेदवारी अन्तिम समयमा फिर्ता हुन्छ

विष्णु पौडेलको खुलासा : भीम रावलको उम्मेदवारी अन्तिम समयमा फिर्ता हुन्छ

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले उपाध्यक्ष भिम रावलको अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता हुने दावी गरेका छन् ।

भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकाले केपी शर्मा ओली सर्वसम्मत हुने सम्भावना छ कि छैन? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दावी गरेका हुन ।

उपाध्यक्ष रावलको घोषणा नोमिनेशन गर्ने बिन्दुमा पुग्दा पुर्नविचार हुने उनले वताए । ‘भीमजीले उम्मेदवारी मिडियामार्फत् इच्छा जाहेर गर्नुभएको छ। मलाई लाग्छ नोमिनेशन गर्ने बिन्दुमा पुग्दा उहाँले आफ्नो प्रस्तावमा पुर्नविचार गर्नुहुन्छ’ उनले भने–‘अध्यक्षको जिम्मेवारीमा केपी शर्मा ओलीलाई निर्विरोध जिम्मेवारी सम्हाल्ने ढंगले योगदान गर्नुहुन्छ। आफूले पनि उपयुक्त जिम्मेवारी सम्हाल्दै अघि बढ्नुहुन्छ। यो उम्मेदवारीमा अन्त्यसम्म कायम रहनुहुन्छ भन्ने मलाई लाग्दैन।’

उनले आफनो दावीदारीलाई भने गौण विषय भएको वताए । ‘राष्ट्रिय राजनीतिमा पार्टीको दाबी महत्वपूर्ण विषय हो। एमालेको राष्ट्रिय राजनीतिमा दाबी के हो भने एमालेले नेतृत्व नगरेसम्म यो देश बन्दैन। विकास समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न सक्दैन।’– उनले भने। 

नेता कार्यकर्ता महासचिवमा उम्मेवदवारीका लागि इच्छा गरेको वताएका उनले कहाँ उम्मेद्वारी दिने भन्ने कुरा मंसिर ११ गते बिहान सार्वजनिक गर्ने वताए । 

एमालेमा हालसम्म महासचिवमा शंकर पोखरेल र पौडेलको दाबी छ। दुईमध्ये एकलाई उपाध्यक्षमा व्यवस्थापन गर्नुपर्ने अवस्था केपी शर्मा ओलीलाई छ। तर उनले भने पार्टीको मुख्य नेताको हिसाबले कस्तो टिमलाई लिएर पार्टी निर्माणको कामलाई अघि बढाउँने भनेर सोच्ने अभिभारा अध्यक्ष केपी ओलीसँग रहेको वताए ।

पोखरेल र आफनो विचमा चुनाव हुने नहुने भन्ने प्रश्नको सान्दर्भिकता नै नरहेको उनको जिकिर छ। ‘हामी सहमतिको प्रयासमा छौं। सहमति बाध्यकारी विकल्प होइन। हामी स्थितिबारे र कसले के जिम्मेवारी लिने छलफल गर्छौं। छलफलमा सहमति भए तदनुकुल हामी अघि बढ्छौं। सहमति हुन सकेन तदनुकुल अघि बढ्छौँ। यो प्रश्नको जवाफ हामी उचित समयमा दिन्छौं। हतारो गर्नुपर्ने अवस्था छैन।’

विष्णु पौडेल

विशेष