News राजनीति

सचिवमा उम्मेदवारी दिन शान्तालाई दबाब !

सचिवमा उम्मेदवारी दिन शान्तालाई दबाब !

नेकपा एमालेको १०औं महाधिवेशनका लागि नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । कसैले पत्रकार सम्मेलन गरेरै उम्मेदवारी घोषणा गरिरहेका छन् भने कसैले आफु निकट पत्रकारहरुलाई उम्मेदवारीको जानकारी दिदै आएका छन् ।

महाधिवेशन नजिकिदै जाँदा अन्य पदमा लगभग समझदारी हुने सम्भावना देखिएको छ। तर, आकांक्षी धरै भएको सचिव पदमा भने निर्वाचन हुने सम्भावना वढ्दै गएको छ। एमालेमा ७ जना सचिवका लागि झण्डै दुई दर्जन वढी नेताहरु आकांक्षी देखिएका छन् ।

आकांक्षा भएर पनि घोषणा गरी नसकेका नेताहरुको संख्या पनि निकै छ। तिनै मध्येकी एक हुन हाल नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी। चौधरीले सचिवमा उम्मेदवारी दिने कुरा सार्वजनिक गरेकी छैनन्। तर, उनलाई उम्मेदवारी दिन चर्को दवाव परिरहेको छ।

१८ वर्ष कम्लरी जिवन विताएकी, भुमी आन्दोलनकी अगुवा तथा संघर्षले खारिएर यहाँसम्म आई पुगेकी उनलाई पार्टी भित्र थारु समुदायको उच्च प्रतिनिधित्व गराउनका लागि पनि सचिव पदमा निर्विरोध चयन गर्नु पर्ने मागहरु उठिरहेका छन् । यो विषय अध्यक्ष केपी शर्मा ओलीको कानसम्म पनि पुगेको वताईन्छ। तर, यस विषयमा आधिकारीक धारणा सार्वजनिक भएको छैन।

चौधरी वाहेक सचिवमा आकांक्षीको संख्या धेरै छ। योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, टोपबहादुर रायमाझी, लेखराज भट्ट, शेरबहादुर तामाङ, हिक्मत कार्की, किरण गुरुङ, खगराज अधिकारी, यामलाल कँडेल, कर्ण थापा, प्रभु साह, रघुवीर महासेठलगायका नेता सचिवका लागि तयारी गरिरहेका छन् ।

यसैगरी, भानुभक्त ढकाल, अरुण नेपाल, आनन्द पोखरेल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, शेरधन राई, गुरु बराल, खिमलाल भट्टराई, राधा ज्ञवाली, पद्मा अर्याल, गोकुल बास्कोटा, विष्णु रिमाल, विन्दा पाण्डे, राजेन्द्र गौतम सचिवका दावेदार हुन ।

अन्य पदमा यस्तो छ अंक गणित
अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम चर्चामा छ। तर, उनीहरुको उम्मेदवारी घोषणा भई सकेको छैन। महासचिव, उपमहासचिव र सचिवमा धरै नेताहरुको आकांक्षा देखिएको छ। तर, यसलाई ओलीले समेटेर लान सक्ने अनुमान छ।

उपाध्यक्ष र महासचिवका आकांक्षीले सार्वजनिक रुपमा मुख नखोले पनि प्रचार–प्रसार गरिरहेका छन् । चार उपाध्यक्षका लागि सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, भीम रावल, युवराज ज्ञवाली, पृथ्वीसुब्बा गुरुङल, युवराज ज्ञवालीलगायतको नाम चर्चामा छ । तर, रावलले भने पत्रकार सम्मेलन गरेरै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

महासचिवका लागि विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तयारी अवस्थामा छन् । उपमहासचिवमा घनश्याम भुसाल र सचिव प्रदीप ज्ञवालीको नाम चर्चामा छ । यी सवै पदमा सर्वसहमतीको प्रयास भईरहेको छ। सहमति नभएका पदमा भने निर्वाचन हुने वताईन्छ।

शान्ता चौधरी

विशेष