News

कांग्रेसको जिल्ला अधिवेशनमा गोली, राज्य श्रोतको दुरुपयोग

कांग्रेसको जिल्ला अधिवेशनमा गोली, राज्य श्रोतको दुरुपयोग

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै जाँदा आन्तरिक प्रतिस्पर्धा चर्को हुँदै गएको छ। प्रधानमन्त्री शेरवहादुर देउवा र गृहमन्त्री वालकृष्ण खाँडले फरक धारलाई सिद्याउन राज्यश्रोतको दुरुपयो गरेको आरोप रामचन्द्र पौडेल समुहले लगाएको छ।

प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले गोली चलाएको विषयलाई लिएर यो आरोप लागेको हो। मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।

युवाहरुले आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देविप्रसाद गैरेले जानकारी दिए ।

झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । ६५ मत गणना गर्न बाँकी हुँदा उक्त घटना भएको हो। खसेको कूल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन् । गिरी पक्षले विजयी घोषणा गरी खुशी मनाएको छ भने देउवा पक्षबाट शिव रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरेको छ। 
 

नेपाली काँग्रेस

विशेष