News राजनीति

ओलीको तजविजमा यस्तो वन्न सक्छ एमालेको नयाँ नेतृत्व

ओलीको तजविजमा यस्तो वन्न सक्छ एमालेको नयाँ नेतृत्व

नेकपा एमालेको मंसिर १० गते चितवनको नारायणी नदी किनारमा उद्घाटन हुने दशौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयने गर्दैछ। नयाँ नेतृत्वका वारेमा आम जनमानसले अनेक अड्कलवाजी गरिरहेका छन् ।

गत असोजमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले पार्टीको विधान संशोधन गरेर १५ जना पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटीसहितको २२५ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था गरेको छ । 

जस १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उप–महासचिव र ७ सचिवहरू निर्वाचित हुनेछन् । सहमतिमा नेतृत्व चयन गरेर केपी ओली सर्वसम्मत रूपमा पुनः अध्यक्षमा दोहोरिने छन् । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि पार्टीभित्र उनको बलियो प्रभाव नभएकोले ओलीलाई टक्कर दिने अवस्था नरहेको नेताहरु वताउँछन् ।

एमाले नेताहरू कम्तिमा पदाधिकारी सहमतिमै चयन गर्ने प्रयास गरिरहेका छन् । सहमति पनि कसको नाममा हुन्छ भन्ने कुरा अध्यक्ष ओलीमा निहित रहेको नेताहरुको भनाई छ। ‘पार्टीको मुख्य नेताको हिसाबले कस्तो टिमलाई लिएर म पार्टी निर्माणको कामलाई अघि बढाउँछु भनेर सोच्ने अभिभारा अध्यक्ष केपी ओलीसँग छ’ नेता विष्णु पौडेल भन्छन्–‘प्रश्न के हो भने उहाँले साथीहरुसँग सल्लाह गर्ने हो। आफ्नो सुझाव राख्ने हो। कोही पनि साथी प्रतिष्पर्धामा जाने इच्छा गर्नुहुन्छ भने उहाँले रोक्ने कुरा हुँदैन।को विश्वास को प्रति बढी छ भन्ने कुरामा निर्भर गर्छ ।’

पौडेलले भने अनुसार हुने हो भने ओली नेतृत्वको एमाले पदाधिकारीको पहिलो विकल्प यस्तो हुनसक्छ

अध्यक्ष– केपी ओली, वरिष्ठ उपाध्यक्ष– ईश्वर पोखरेल, उपाध्यक्ष– सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, महासचिव– विष्णु पौडेल, उपमहासचिव– शंकर पोखरेल, सचिव– पृथ्वी सुब्बा गुरूङ, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, लेखराज भट्ट, शेरबहादुर तामाङ र यमलाल कँडेल ।

एमालेको वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेलले दाबी गरेका छन् । दुई कार्यकाल महासचिव निर्वाचित भएका पोखरेल विधानको व्यवस्थाअनुसार पुनः सोही पदमा दोहोरिन पाउँदैनन् । 

केपी ओलीले नेतृत्व हस्तान्तरण गर्दा एमालेको हाइ–कमाण्ड सम्हाल्ने योजनामा रहेका पोखरेल ओली अध्यक्षमा दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्षको दाबीमा छन् । उनलाई अर्का नेता सुवास नेम्वाङले टक्कर दिइरहेका छन् । नेम्वाङ लामो समय पार्टीको तर्फबाट सरकारी र संसदीय मामला सम्हालेर बसेका थिए । 

ओलीको सहयोगी र विश्वास गर्ने हिसाबले पोखरेलभन्दा नेम्वाङ ओलीको निकट छन् । निर्वाचन हुँदा महाधिवेशनमा नेम्वाङले पनि उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । तर, सहमतिमा नेतृत्व चयन गर्दा पार्टीमा सिनियर नेता भएका कारण ओलीले पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाउन सक्छन् । चुनावी मैदानमा जाँदा भने नेम्वाङले पोखरेललाई पछि पार्न सक्ने सम्भावना छ।

एमालेको चार उपाध्यक्ष पदका लागि युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, घनश्याम भुसाल, किरण गुरूङ, लालबाबु पण्डित, रघुजी पन्त लगायतले दाबी गरेका छन् । सहमतिमा नेतृत्व निर्माण गर्दा चार उपाध्यक्षमा सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र सुरेन्द्र पाण्डे समेटिन सक्ने बलियो सम्भावना छ । 

अष्टलक्ष्मी शाक्य महिला र पार्टीमा सिनियर नेता भएका कारण उपाध्यक्ष सजिलै बन्न सक्ने अवस्था छ । महासचिवमा दाबी गरेको सुरेन्द्र पाण्डेलाई उपाध्यक्ष दिएर व्यवस्थापन गर्ने सम्भावना छ ।

पाण्डे आफैँले महासचिव वा त्यसभन्दा माथिल्लो पद आफूलाई चाहिने बताउँदै आएका छन् । पछिल्लो समय ओली निकट भएर उनले विश्वास जित्ने र पदाधिकारीमा स्थान बनाउने प्रयास गरिरहेका छन् । 

पाण्डेलाई उपाध्यक्ष पदमा व्यवस्थापन गर्दा महासचिवमा दावी गर्ने विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरूङ बाँकी रहन्छन् ।

त्यसमध्ये, ओलीले विष्णु पौडेललाई महासचिव, शंकर पोखरेललाई उपमहासचिव तथा पृथ्वी सुब्बा गुरुङलाई सचिवमै राखेर व्यवस्थापन गर्न सक्छन् ।

अहिले पदाधिकारीमा रहेका र केही नयाँ अनुहारलाई व्यवस्थापन गर्दा एमालेको ७ सचिवमा पृथ्वी सुब्बा गुरूङ, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, लेखराज भट्ट, शेरबहादुर तामाङ र यमलाल कँडेल समेटिन सक्ने सम्भावना एमाले नेताहरू औंल्याउँछन् । 

त्यसबाहेक, राष्ट्रिय महाधिवेशनबाट विधान संशोधन गरी दुई उपाध्यक्ष र दुई उपमहासचिव पद थप्ने र आंकाक्षीहरूको व्यवस्थापन चर्चा पनि चलिरहेको छ।

पदाधिकारीमा सात उपाध्यक्ष र सात सचिवको व्यवस्था हुँदा प्रदेशअनुसार उपाध्यक्ष र सचिव निर्वाचित गर्न सकिने र उनीहरूलाई नै सम्बन्धित प्रदेशको इञ्चार्ज र सह–इञ्चार्ज बनाउन सकिने भन्दै केही नेताहरूले यो विकल्पमा सोच्न नेतृत्वलाई सुझाव दिएका छन् । 

महाधिवेशनबाट २५० जनाको केन्द्रीय कमिटी निर्वाचित गर्ने र १० प्रतिशत मनोनयन गरेर कुल २७५ जनाको केन्द्रीय कमिटी बनाउनुपर्ने उनीहरूको तर्क छ । 

त्यसो हुँदा निम्नअनुसारको टिम तयार हुन सक्छ
अध्यक्ष– केपी ओली, वरिष्ठ उपाध्यक्ष– ईश्वर पोखरेल, उपाध्यक्ष– भीम रावल (सुदूरपश्चिम), युवराज ज्ञवाली (कर्णाली), सुवास नेम्वाङ (प्रदेश– १), प्रदीप ज्ञवाली (लुम्बिनी), अष्टलक्ष्मी शाक्य÷रामबहादुर थापा (बागमती), पृथ्वी सुब्बा गुरूङ (गण्डकी), सत्यनारायण मण्डल (प्रदेश–२), महासचिव– विष्णु पौडेल, उप–महासचिव– घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, सचिव– गोकर्ण विष्ट (लुम्बिनी), योगेश भट्टराई वा भीम आचार्य (प्रदेश– १), किरण गुरूङ (गण्डकी), अरुण नेपाल वा शेरबहादुर तामाङ (बागमती), रघुवीर महासेठ (प्रदेश–२), लेखराज भट्ट (सुदुरपश्चिम), यमलाल कँडेल (कर्णाली)। 

एमाले नेताहरूले पदाधिकारीमा सर्वसम्मति गर्न सकेनन् भने नेतृत्व चयनको अन्तिम विकल्प निर्वाचन हो । निर्वाचन हुँदा जसले बढी प्रतिनिधिलाई प्रभावित गर्न सक्छ उही नेतृत्वमा आउने हो । 

तर, यसपटक एमालेको महाधिवेशनमा निर्वाचनमा जाँदा माओवादी केन्द्रबाट आएका र १० बुँदे सहमति मानेर एमालेमा बसेका नेताहरू कोही पनि पदाधिकारीमा नआउने सम्भावना पनि उत्तिकै रहन्छ । 

एमालेको महाधिवेशनमा निर्वाचन हुँदा केन्द्रीय नेताहरूले गोप्य सर्कुलर जारी गरेर कसले भोट हाल्ने वा नहाल्ने भनेर आफ्ना विश्वासमा भएका प्रतिनिधिलाई जानकारी गराउने गरेका छन् ।

नेकपा एमाले

विशेष