News

राखेपमा नयाँ सदस्य सचिव आउँदै : चौलागाईं, घिसिङ्ग र महर्जन मुख्य प्रतिस्पर्धी

राखेपमा नयाँ सदस्य सचिव आउँदै : चौलागाईं, घिसिङ्ग र महर्जन मुख्य प्रतिस्पर्धी

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका दरखास्त आह्वान गरेको थियो । त्यसका लागि खेल क्षेत्रमा लागेका विभिन्न राजनीतिक दल आवद्ध व्यक्तिहरुले दरखास्त दिएका छन् । दरखास्त दिने आज अन्तिम दिन हो ।

सदस्य सचिवको लागि देवराज चौलागाईं, टेकलाल घिसिङ, युवराज लामा, राजकुमार कार्की, भरत महर्जन, केशव विष्ट, दिपक विष्ट, डा. अचुतम लामिछानेले पनि चासो देखाएका छन् । अहिले सम्म १० जनाले दरखास्त दिएको मन्त्रालय निकट स्रोतले बतायो । दरखास्त दिने मध्ये देवराज चौलागाईं, भरत महर्जन र टेकलाल घिसिङ मुख्य प्रतिष्पर्धीको रुपमा देखिएका छन् । माओवादी केन्द्रका नेता देवराज चौलागाईं पार्टीको काठमाडौँ जिल्ला कमिटी सदस्य हुन् । माओवादी नेतासँग खास देखिएका ब्यापारी महर्जन सुमेरु ग्रुपका अध्यक्ष हुन् भने घिसिङ्ग म्यानपावर व्यवसायी हुन् ।

देउवा सरकारले कात्तिक १ गते राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई समेत पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

विशेष अदालतले राखेपका बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । बुधबार प्राप्त रिटमाथि सुनुवाई गर्दै अदालतले मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गर्ने युवा तथा खेलकुद मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतले दुवै पक्षलाई छलफलका लागि अर्को साता बोलाएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मंसिर ३ गते परिषद् अध्यक्षको हैसियतमा तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नियुक्त गरेका ९ जना बोर्ड सदस्यको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।

बोर्ड सदस्यहरु सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुभाष श्रेष्ठ र रिम रानाभाटले अदालतमा मुद्धा दायर गरेका थिए । राखेपका ६ जना बोर्ड सदस्यले दायर गरेको रिटमाथि विशेष अदालतले बिहीबार अन्तरिम आदेश जारी गरेको हो ।

विशेष