News

मलाई बाहिर राखेर सहमतिका नाममा भएका छलफलबारे जानकारी छैनः भिम रावल

मलाई बाहिर राखेर सहमतिका नाममा भएका छलफलबारे जानकारी छैनः भिम रावल

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले सहमतिका लागि आफुसँग कसैले कुरा नगरेकाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दसौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास वारे आफूलाई जानकारी नभएको उनले वताए ।

शनिबार दिउँसो सौराहामा सुरू भएको बन्दसत्रमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी कायम रहेको बताए। अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षमा सर्वसम्मत हुन रावलले चुनौती दिए।

‘मलाई त सर्वसम्मत बनाउन प्रयास भएको थाहा छैन। अध्यक्षमा मेरो उम्मेदवारी कायम छ,’ रावलले भने–‘सहमति खोज्न कुनै छलफल भएको छैन। कसले कहाँ के के कुरा गरे? मलाई जानकारी छैन।’

उनले आफूलाई बाहिर राखेर सहमतिका नाममा भएका छलफलबारे थाहा नभएको जिकिर गरे। रावलले बन्दसत्रमा सहभागी भएका प्रतिनिधिहरूसँग अध्यक्षमा भोट पनि मागेका छन्। यसअघि सर्वसम्मतिमा नेतृत्व चयन गर्न सजिलो होस् भनेर ओलीले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव गरेका थिए।

केन्द्रीय कमिटीले ओलीको प्रस्ताव पारित गरे पनि सर्वसम्मतिमा नेतृत्व छान्न भने चुनौती देखिएको छ। अहिले एमाले अध्यक्ष ओली बन्दसत्र हुने हलभित्र छिरिसकेका छन्। रावललाई उपाध्यक्ष वा वरिष्ठ उपाध्यक्ष दिए उनी सहमत हुने ओलीको वुझाई छ।
 

विशेष