News

बक्यौता नवुझाएपछि अजेयराज सुमार्गीको ‘हेलो नेपाल’लाई दिएको अनुमतिपत्र खारेज

बक्यौता नवुझाएपछि अजेयराज सुमार्गीको ‘हेलो नेपाल’लाई दिएको अनुमतिपत्र खारेज

अजेयराज सुमार्गीको स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । प्राधिकरणले गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।

असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि बोर्डको निर्णयानुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेकोमा कात्तिक २२ गते हेलो नेपालले जवाफ पठाउँदै थप समय माग गरेको थियो ।

उनका अनुसार कम्पनीले पठाएको पत्रको चित्तबुझ्दो जवाफ नआएपछि २०७६ को पुसमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आधार बनाएर शुक्रबारदेखि नै लागू हुने गरी अनुमतिपत्र खारेजीको निर्णय गरिएको हो ।

यसअघि २०७६ को साउनमा पनि प्राधिकरण सञ्चालक समितिले स्याटेलाइट कम्पनीको लाइसेन्स रद्दको निर्णय गरेको थियो । नेपाल दूरसञ्चार ऐनमा प्राधिकरणले लाइसेन्स रद्द गरेपछि ३५ दिनभित्र मन्त्रिपरिष्दमा पुनरावलोकनका लागि निवेदन दिन सकिने प्रावधान छ  । सोही प्रावधानलाई टेकेर सो कम्पनीले पुनरावलोकनका लागि निवेदन दिएको थियो ।


कम्पनीले दिएको पुनरावलोकन निवेदनमाथि छलफल गर्दै २०७६ पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा पहिलो किस्ता तिर्ने र पाँच वर्षभित्र सबै रकम चुक्ता गर्ने गरी किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेको थियो । 

कम्पनीले प्राधिकरणलाई फ्रिक्वेन्सी शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने रकम, लाइसेन्स नवीकरण शुल्कबापत एक अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले पहिलो किस्तास्वरुप २०७७ को असार मसान्तमा २१ करोड ५१ लाख पहिलो किस्ता बुझाएको छ भने दोस्रो वर्ष अर्थात् २०७८ को असार मसान्तसम्म ३३ करोड ९८ लाख, तेस्रो वर्ष तीस करोड ८६ लाख, चौथो वर्ष रु २७ करोड ७४ लाख र पाँचौँ वर्ष २४ करोड ६३ लाख भुक्तानी गर्ने गरी समय दिएको थियो ।
 

विशेष