News राजनीति

ओलीले झापा आन्दोलनमा जेल परेका साथीलाई पनि बदला लिए

ओलीले झापा आन्दोलनमा जेल परेका साथीलाई पनि बदला लिए

नारायणी नदी किनारमा शुक्रबार भव्य समारोहबीच उद्घाटन भएको नेकपा एमालेको दसौं महाधिवेशनको बन्दसत्र कार्यतालिकाअनुसार शनिबार र आइतबार तोकिएको थियो। आइतबार दिनभर महाधिवेशन प्रतिनिधि बन्दसत्रमा व्यग्र प्रतीक्षामा थिए।  तर, वन्दसत्रको कार्यतालिका अघि वढेन । सहमति गर्ने नाममा अध्यक्ष केपी शर्मा ओली आफ्नो ‘कोर टिम’ सँग होटलमा बसे।

अन्त्यमा साँझ करिव ९ वजे पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली टुंगो लाग्यो। ओलीले नामावली वाचन गरेर सुनाए। तर, सूचीमा भीम रावल र घनश्याम भुसालको नामावली कतै परेन। यसले के देखाउँछ भने ओलीले फरक विचारलाई निषेध गरेर जान खोजेका छन् । 

यति मात्रै होईन, ओलीले झापा आन्दोलनमा सँगै जेल वसेका नरेश खरेल, नारद भारद्वाज र मनकुमार गौतमलगायतलाई समेत पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमा नसमेटेपछि ब्यापक आलोचना भईरहेको छ। प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठले त सामाजिक सञ्जाल फेसवुकमै आश्चर्य ब्यक्त गरेका छन् । उनले लेखेका छन्–‘ विश्वास गरेर जिम्मेवारी दिइएका सबैलाई बधाई तर एउटा जिज्ञाशा– झापा आन्दोलनमा सङ्गै जेल बसेका नरेश खरेल, नारद भारद्वाज र मनकुमार गौतमहरुसङ्ग केमा चित्त दुखेको होला ?’

श्रेष्ठका अनुसार उनिहरु तीनै जना २८ सालको झापा आन्दोलनमा केपी ओलीसँगै जेल वसेका हुन । नरेश खरेल पुराना केन्द्रीय नेता हुन । उनी ०३३ को नख्खू जेल ब्रेकर पनि हुन । ओलीले खरेल विरुद्ध ०५४ सालमा आफनो आलोचना गरेको तुस पोखिरहेको वताईन्छ। खरेलकी श्रीमती पवित्रा खरेल निरौला पनि सकृय राजनीतिमा छिन् । उनी ०७४ सालको संसदिय निर्वाचनमा एमालेका तर्फवाट झापा, क्षेत्र नं.–२ वाट निर्वाचित भएकी हुन । उनी नेकपा एमालेको विभाजनमा माधवकुमार नेपाल पक्षमा खुलेकी थिईन। 

यसैगरी, नारद भारद्वाजको विगत पनि झापा आन्दोलनसँग जोडिएको छ। उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एक दशकभन्दा बढी जेल जीवन विताएका हुन । त्रिभुवन विश्वविद्यायबाट सह–प्राध्यापकबाट अवकाश प्राप्त उनी पत्रकारिता क्षेत्रसँग पनि जोडिएका छन। जेलमा रहेका बेला भारद्वाजले अंग्रेजी शब्दकोश कन्ठ पारेको भन्ने चर्चा पनि उनी निकट मित्रहरुबीच हुने गर्छ। विगतदेखि नै कम्युनिस्ट विचारप्रति आस्था राख्ने उनी प्रधानमन्त्री ओलीकै रिफारिसमा कतारका लागि राजदुत भएका थिए । तर, एमालेको पदाधिकारी तथा केन्द्रिय सदस्यमा उनको नाम  समेटिएको छैन।

२०२९ पुस १० गते राष्ट्रिय पञ्चायत (तत्कालीन संसद्) का पूर्वसांसद धर्मप्रसाद ढकालको उनकै घर (हात्ती किल्ला, शनिश्चरे) गाउँमा हत्या भएपछि त्यो काण्डमा खड्गप्रसाद ओली, मनकुमार तामाङ, अमरबहादुर कार्की, अमरबहादुर अधिकारी, भोगेन राजवंशी, ‘छविल’ भनिने छविलाल राजवंशी, मनकुमार गौतम राधाकृष्ण मैनाली, भुसा धिमाल, दधिराम उप्रेती, लाखबहादुर तामाङ, फतरा सतार, लीलादेवी कट्टेल, श्यामदास रेग्मी, ताराबहादुर कालाखेती र रत्नबहादुर कार्कीका साथै मुख्य योजनाकार मोहनचन्द्र अधिकारीविरुद्ध अदालतले कैद र जरिवानाको फैसला सुनाएको थियो।

गौतमलाई पछि साधुको भेषमा भूमिगत राजनीतिमा क्रियाशील भएकै अवस्थामा पञ्चायती शासकले गिरफ्तार गरी १८ वर्षसम्म कारागारमा थुनेका थिए । ओलीसँगै जेल वसेका गौतमको पनि नाम सूचीमा समावेश गरिएको छैन।

ओली पहिलो पटक १६ फागुन २०२७ मा झापाबाट गिरफ्तार भएका थिए। गिरफ्तारीपछि झापा पुलिस थानामा राखियो उनलाई । उनी पटक पटक समातिँदै र छाडिँदै गरे प्रहरीबाट । २०२७–२०३० सालका बीचमा १० पटकभन्दा बढी गिरफ्तारीमा परे ओली । झापा काण्ड अर्थात् किसान विद्रोहका समयमा झापाका जमिन्दार धर्मप्रसाद ढकाल (माथि उल्लेख गरिएको) को हत्या भएपछि राज्यले धरपकड सुरु गरेको थियो। 

पछि २३ असोज २०३० देखि लामो समय अर्थात् झण्डै डेढ दशक जेल परे ओली । भारततिर भागेका ओली नेपाल फर्किनासाथ रौतहटको गौरमा पक्राउ परे । गौर थानामा २ दिन राखेपछि उनलाई वीरगंज जेल चलान गरियो । ८ मंसिर २०३० मा भद्रगोल जेल काठमाडौँमा ल्याइयो । र, त्यसको ३ दिनपछि ११ मंसिरमा सेन्ट्रल जेल गोलघरमा पु¥याइयो ।

११ मंसिर २०३० देखि १६ वैशाख २०३२ सम्म सेन्ट्रल जेल गोलघरमा रहेका ओलीलाई त्यसपछि गोलघरबाहिर निकालियो ।२०३३ साउनमा नख्खु जेल चलान गरिएका ओलीलाई २०३३ मंसिरमा पुनः केन्द्रीय कारागार गोलघरमै लगियो । झण्डै साढे २ वर्ष उनी गोलघरमै बसे । २०३६ जेठमा मात्र उनलाई गोलघरबाहिर निकालियो ।

२०३७ चैतमा पुनः नख्खु जेल चलान गरियो भने ३ माघ २०३९ मा पोखरा जेल पु-याइयो । २०४२ कात्तिकमा पोखराबाट स्याङ्जा जेलमा लगेर ८ मंसिर २०४३ मा हनुमान ढोका जेल चलान गरियो र १२ माघ २०४३ मा भद्रगोल जेल चलान गरियो ।

११ असार २०४४ मा भद्रगोल जेलबाट रिहा भए ओली । जेलबाट छुट्दा ओली निकै दुब्ला पातला देखिन्थे । जेलबाट छुटेपछि उनी पार्टीका साथीभाइसँग गाडी भाडा मागेर झापा फर्किएका थिए । त्यसपछि उनी विस्तारै राजनीतिमा उदाए। तर, सँगै वेसकाहरुको भने उनकै कारण राजनीतिमा सुर्यास्त भएको वताईन्छ।

केपी शर्मा ओली

विशेष