News

युगान्डाकै शैलीमा चीनको कब्जामा पुग्न सक्छ पोखरा विमानस्थल !

युगान्डाकै शैलीमा चीनको कब्जामा पुग्न सक्छ पोखरा विमानस्थल !

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ०७९ वैशाखसम्म निर्माण सम्पन्न गर्ने गरी काम भईरहेको छ। प्राधिकरणले २०२२ जनवरी १ (पुस १७ गते) बाट आन्तरिक उडान सुरु गर्ने तयारी गरेको छ।

प्रोजेक्ट म्यानेजर प्रदिप अधिकारीका अनुसार आजको मितिसम्म विमानस्थल निर्माणको काम ८७ प्रतिशत सम्पन्न भएको छ। यसअघि झै कोभिड लगायतका संक्रमणले असर नगरे वैशाखसम्म जसरी पनि सक्ने गरी निर्माणको काम भईरहेको छ। 

सन् २०१७ नोभेम्बर बाट निर्माण सुरु भएको विमानस्थल यही वर्षको जुनभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा थियो । कोरोना महामारीले चिनियाँ कामदार र आवश्यक उपकरण नआएकोले एक वर्ष म्याद थपिएको छ । विमानस्थल आयोजनाले भने वैशाख १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने गरी तयारी गरिरहेको जनाएको छ । त्यसअघि विमानस्थलको दक्षिणपूर्वपट्टी बाढी र कटान नियन्त्रण गर्ने, रिठ्ठेपानीको डाँडा काट्ने र ल्यान्डफिल साइट सार्ने चुनौति रहेको छ। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार ‘फोर डी मोडल’ मा विमानस्थल बनिरहेको छ । निर्माण पूरा भएपछि १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ए ३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्नसक्ने बताइएको छ । सुरुवातमा पोखराबाट हङकङ, दिल्ली, दोहा र थाइल्यान्डमा सीधा उडान गर्ने प्राधिकरणको तयारी छ । यी सहरलाई ट्रान्जिट बनाएर भने अन्य मुलुकबाट पनि जहाज आउन सक्छन् ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टीबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन–वेको दुबै तर्फबाट उडान तथा अवतरण गर्न मिल्छ । विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिने छ । तीनवटा अन्तर्राष्ट्रिय, चारवटा एटीआर र चारवटा ट्वीनअटर जहाज पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने प्राधिकरणको तयारी छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने बताइएको छ ।

दाह्रा फैलाउँदै चाईनिज वाघ
सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो ।

२०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भएर पोखरा विमानस्थलको काम अघि वढेको हो । नेपाल सरकार र प्राधिकरणबीच २०१९ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह ग-यो । झण्डै २२ अर्ब रुपैयाँ लागतमा सन् २०१७ नोभेम्बरदेखि विमानस्थल निर्माण भइरहेको छ । २०२१ जुन १० मा सक्नुपर्ने भए पनि एक वर्ष म्याद थपिएको छ ।

प्रोजेक्ट म्यानेजर अधिकारीका अनुसार २० वर्षभित्रमा विमानस्थल निर्माणमा लागि लिएको चीनको ऋण चुक्ता गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ। नेपाल सरकार ग्यारेण्टी वसेर उक्त ऋण प्राप्त भएको हो ।

निर्धारित समयमा ऋण तिर्न नसक्ने अवस्था आयो भने सन २०३७ पछि भने विमानस्थलावाट हात धुनु पर्ने अवस्था आउन सक्छ। हालसालै चीनले युगान्डाको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिएपछि नेपालमाथि पनि त्यो खतरा मडारिन थालेको जानकारहरु वताउँछन् । युगान्डाले ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको हो ।

युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी नेतृत्वको तत्कालिन सरकारले सन् २०१५ मा सो विमानस्थल विस्तारका लागि चीनको एक्स्पोर्ट– इम्पोर्ट बैंकबाट २०७ मिलियन डलर ऋण लिएको थियो ।

सात वर्षभित्र सो ऋण चुक्ता गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम युगान्डाले तोकिएको समयावधिभित्र ऋण तिर्न नसक्ने भएपछि चीनले सो अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको जनाईएको छ। 

युगान्डाले भोगेको यो समस्या भोलिका दिनमा नेपालमा पनि आईपर्न सक्ने जानकारहरु वताउँछन् । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड युगान्डाको एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल

विशेष