यस्तो वन्यो ओलीको ‘कम्फर्टेवल टिम’, पदाधिकारीमा ९ जना नयाँ अनुहार

केपी शर्मा ओलीलाई दोस्रो पटक अध्यक्ष वनाउँदै नेकपा एमालेको दसौं महाधिवेशन सकिएको छ। महाधिवेशनबाट अध्यक्ष ओलीले ‘कम्फर्टेवल टिम’ तयार गरेका छन् ।
महाधिवेशन प्रतिनिधिले मत दिने आफ्नो अधिकार ओलीलाई सुम्पिएर केन्द्रीय कमिटी र पदाधिकारीको सूची तयार पारिएको थियो । सोही अधिकार प्रयोग गर्दै ओलीले आफूप्रति बफादारहरूको केन्द्रीय समिति र पदाधिकारीको सूची बनाए।
यद्यपी भिम रावल, घनश्याम भुसाललगायतका नेताहरुले उनको सूचीलाई अस्विकार गरे। तर, ओलीको प्रस्ताव अस्विकार गर्ने र उनको आलोचना गर्नेहरु सम्पूर्ण रुपमा पराजित भएका छन् । फरक मतको नेतृत्व गर्नेहरू बाहिरिएसँगै ओलीप्रति बफादारहरू रहेको केन्द्रीय कमिटी र पदाधिकारी रहेको नेतृत्व चयन भएको छ ।
ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई चयन गरे। सोही पदमा उम्मेदवारी दिने अडान लिएका सुवासचन्द्र नेम्वाङलाई पाखा लगाएर पोखरेललाई स्थापित गरे ओलीले। पूर्व माओवादी नेता रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डे उपाध्यक्ष वने।
अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा ओलीले ढाल वनेर उभिँदै आएका शंकर पोखरेल निर्विरोध भए । उपमहासचिवमा पनि ओलीले आफ्ना बफादारहरूलाई नै अगाडि सारे । विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ र प्रदीपकुमार ज्ञवालीलाई उपमहासचिवको जिम्मेवारी दिईएको छ।
सचिव पदमा १० बुँदे सम्झौता गरी एमालेमै फर्किएका र पछिल्लो समय ओलीका क्रियाकलापप्रति कुनै प्रश्न नउठाएका योगेश भट्टराई र गोकर्ण विष्टलगायत छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल, रघुवीर महासेठ र लेखराज भट्टलाई समेटिएको छ।
ओलीको प्रश्ताव विरुद्ध उभिएका भीम आचार्य र पूर्वराजदूत टंक कार्की निर्वाचनमा पराजित भए ।
जानकारहरुका अनुसार यस पटक ओलीको गुणगान नगाउने र उनको आलोचना गर्ने राम्रा र स्वच्छ छविका नेतासमेत वढारिएका छन् । विन्दा पाण्डे, लालबाबु पण्डित, विशाल भट्टराई लगायतका नेता छाँटिए ।
तथापी १९ जना पदाधिकारी चुनिएका मध्ये ५ जना निर्विरोध चुनिएका छन् भने १४ जनाले चुनावी प्रतिष्पर्धा गरेका छन्। अध्यक्षदेखि सचिवसम्म १४ पदका लागि चुनाव भएको थियो। १४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए।
यस्ता छन एमालेका नयाँ पदाधिकारी प्राप्त मत
अध्यक्ष– केपी शर्मा ओली (१८४०)
वरिष्ठ उपाध्यक्ष– ईश्वर पोखरेल (निर्विरोध)
महासचिव– शंकर पोखरेल (निर्विरोध)
उपाध्यक्षहरू
अष्टलक्ष्मी शाक्य (१९७६)
सुरेन्द्र पाण्डे (१९२५)
सुवास नेम्वाङ (१८६५)
विष्णु पौडेल (१८५६)
युवराज ज्ञवाली (१८४२)
रामबहादुर थापा ’बादल’ (१७६८)
उपमहासचिवहरू
प्रदीप ज्ञवाली (निर्विरोध)
पृथ्वीसुब्बा गुरूङ (निर्विरोध)
विष्णु रिमाल (निर्विरोध)
सचिवहरू
गोकर्ण विष्ट (१९७६)
योगेश भट्टराई (१९६४)
पद्मा अर्याल (१८००)
छबिलाल विश्वकर्मा (१८००)
लेखराज भट्ट (१७०४)
टोपबहादुर रायामाझी (१७००)
रघुवीर महासेठ (१५१३)
१९ पदाधिकारी मध्ये ९ जना पहिलो पटक एमाले पदाधिकारी बनेका हुन्। सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा ‘बादल’, विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायामाझी र रघुवीर महासेठ पदाधिकारीमा नयाँ अनुहार हुन ।
पदाधिकारीमा रघुवीर महासेठ मधेशीतर्फवाट र छविलाल विश्वकर्मा दलितवाट प्रतिनिधित्व गर्छन।