News

भोट नहाल्नु भन्दै ओलीले वाँडेको लिष्टमा क–कस्को नाम छ ? (सूचीसहित)

भोट नहाल्नु भन्दै ओलीले वाँडेको लिष्टमा क–कस्को नाम छ ?  (सूचीसहित)

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनस्थल सौरहामा मतदान भइरहेको छ। मतदानमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै ओली पक्षले प्रतिनिधिहरूलाई पर्चा बाँडेको भेटिएको छ ।

मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट हाल्ने र भोट नहाल्ने नामावली’ लेखिएको दुई खालको पर्चा बाँडिएको छ । भोट नहाल्ने नामावलीमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ ।

यसैगरी, उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई पनि भोट नहाल्न भन्दै पर्चा बाँडिएको छ ।

प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ ।

अध्यक्षमा केपी शर्मा ओलीसँग रावलको प्रतिस्पर्धा छ । यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए ।

राति ९ बजेदेखि बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा ४ बजेदेखि मात्र मतदान सुरू भएको हो।

मतदानका लागि मतदाताको लामो लाइन छ। रातभर जाग्राम बसेर मतदानका लागि बसेका प्रतिनिधिहरू बिहान पुनः लाइन लागेर भोट हाल्न तयार छन्। 

एमालेका निर्विरोध निर्वाचित महासचिव शंकर पोखरेलले भीम रावल र उनी पक्षधर उम्मेदवारलाई भोट नदिनू भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको बताएका छन् । उनले त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत उनले बताए। 


 

विशेष