News

बझाङका 'असक्षम' प्रधानाध्यापक राजिनामा दिँदै, कुम्ल्याएको रकम समेत फिर्ता गरिदिने 

बझाङका 'असक्षम' प्रधानाध्यापक राजिनामा दिँदै, कुम्ल्याएको रकम समेत फिर्ता गरिदिने 

बझाङको छबिस पाथिभेरा गाउँपालिका वडानं ०७ स्थित मजखोरी माध्यामिक विद्यालयका प्रधानाध्यापक जनक बोहराले आफु असक्षम प्रधानाध्यापक भएको घोषणा गरेकाछन् । विद्यालयको प्रशासन सञ्चालन गर्न नसकेको भन्दै बोहराले आफुलाई असक्षम भएको स्विकार गरेकाछन् । शैक्षिक प्रशासन सञ्चालन गर्न नसकेको असक्षमता व्यक्त गर्दै बोहराले केही दिनभित्र राजिनामा दिने घोषणा समेत गरेकाछन् ।


बिहीबार नेपाल आजको स्थलगत रिपोटिङको क्रममा विद्यालय परिसरमा हिसाब किताब गर्नु छ भन्दै घाम तापेर बसेका असक्षम प्रधानाध्यापक बोहराले राजिनामा दिने घोषणा गरेकाहुन् । 


विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न नसकेको, आर्थिक क्रियाकलाप पारदर्शी नगरेको, शिक्षक नियुक्ति गर्दा सेटिङ गरेको लगायतका आरोपहरुले शिक्षकको घेराबन्दिमा परेपछि बोहरा राजिनामा दिन तयार भएकाछन् । 


बोहरा प्रधानाध्यापक भएदेखि नै विद्यालयको सामाजिक परिक्षण नगरेको, विद्यालयमा आएको बजेटको चरम दुरुपयोग गरेको तथा शैक्षिक गुणस्तर कायम गर्न नसकेकोले शिक्षकहरुले त्यसको प्रतिरोध गरेको शिक्षक रामचन्द्र मण्डेलले बताए । 


जनक बोहरा प्रधानाध्यापक हुँदा खुलेआम विद्यालयको रकम अपचलन गरेको शिक्षक मण्डेलको भनाई छ । 'विद्यालयमा विनियोजित बजेटमा कागज मिलाएर पैसा खाएको देखियो । पुस्तकालयका लागि आएको ६ लाख ५० हजार बराबरको रकममा कागज मिलाएर खाएको देखिएपछि हामीले विल र किताबको हिसाब गछौँ भन्दा एक लाख फिर्ता गर्छु भनेकाछन् ।' उनले भने । 


'पुस्तकालय स्थापना गरेको २ वर्षसम्म सबै रकमको किताब ल्याए भनेका थिए । हामीले विल पेश गर्नुस भन्दा अटेरी गर्थे । बिहीबार सबै शिक्षकहरुले बाध्य बनाएपछि विल देखाउन त तयार भएनन् तर एक लाख फिर्ता गर्छु भनेकाछन् । एक लाख फिर्ता गर्छु भन्नुले प्रधानाध्यापक बोहराले रकम दुरुपयोग गरेको पुष्टि गर्छ ।' शिक्षक मण्डेलको भनाई  छ ।
प्रधानाध्यापक बोहराले पुस्तकालय स्थापना गर्दा, आइटी ल्याव स्थापना गर्दा, विद्यालय भवन निर्माण गर्दा आर्थिक अनियमितता गरेको शिक्षकहरुको आरोप छ । 
आइटी ल्याव स्थापना गर्दा ल्याएको प्रिन्टरले एक पटक पनि काम नै नगरेको शिक्षक गोविन्द धामीले बताए । 
गत आर्थिक वर्ष निर्माण भएको ४२ लाख बराबरको विद्यालय भवनको काम अझै पुरा भएको छैन । प्रदेश सरकारको सामाजिक विकास शाखाबाट कागजात पेश गरेर रकम भुक्तानी लिइसकेपनि विद्यालयमा काम भने सम्पन्न भएको छैन । 


करिब एक लाख ५० हजारको फर्निचरको विल पेश गरेर गत असारमा भुक्तानी लिएपनि मंसिरसम्म विद्यालयमा फर्निचर भने एउटा पनि छैन । दुइ तला भएको विद्यालय भवनको सिढीमा समेत प्लास्टर गरिएको छैन । 


प्रधानाध्यापक बोहरालाई नेपाल आजले तपाइले पुस्तकालयको पैँसा अपचलन गरेको हो? भनेर प्रश्न गर्दा एक लाख विद्यालयलाई फिर्ता गरेको बताए । तर विल भरपाई के छ भन्ने प्रश्नमा भने उनले विल देखाउन नसकिने प्रतिक्रिया दिए । 


विद्यालयमा भुक्तानी भएको रकम बराबरको काम नभएको जानकारी नेपाल आजले जिल्लास्थित सामाजिक विकास शाखालाई गराएपछि तत्काल फर्निचरको व्यवस्थापन गर्न र सिढीमा प्लास्टर गर्न प्रधानाध्यापक बोहरालाई ताकेता गरेको छ । 
 

प्रधानाध्यापक राजिनामा

विशेष