News राजनीति

चीन विरोधी ट्याग लागेका जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री

चीन विरोधी ट्याग लागेका जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री

हुम्ला जिल्लामा नेपाली कांग्रेसवाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । उनले मंगलबार राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ ग्रहण गरे।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका शाहीले प्रदेशसभामा २१ सांसद्को समर्थन पाएका छन् । कर्णाली प्रदेशसभाका ४० सिटमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ६ र राप्रपा नेपालका एक जना सदस्य थिए ।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा हुँदै पुनः एमाले र माओवादी केन्द्र बन्ने प्रक्रियामा ५ जना प्रदेश सांसदको पद एमालेबाट गुम्यो । उनीहरु अहिले नेकपा एकीकृतमा छन् । हाल ३५ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित १३, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६, नेकपा एकीकृत समाजवादीका ३ र राप्रपा नेपालका १ जना प्रदेश सांसद छन् । 

माओवादी, काँग्रेस र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनमा माओवादीका १२, काँग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सांसद गरी २१ जना छन् । शाही अहिले मुख्यमन्त्री बन्नुमा माओवादीको साथ देखिए पनि मुख्य कुरा तत्कालीन नेकपा विभाजन र एमाले फुट्नु नै हो । हाल प्रदेश सभाको अंकगणितमा थोरै सिट भए पनि काँग्रेस निर्णायक अवस्थामा छ । 

पूर्वसर्त अनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेसको संसदिय दलका नेता शाही मुख्यमन्त्री नियुक्त भएका हुन । अल्पमतमा परेका महेन्द्रबहादुर वैशाख ३ गते कांग्रेसको सहयोगमा विश्वासको मत पाई थप ६ महिना मुख्यमन्त्री टिकेका थिए। सोही अघिल्लो दिन वैशाख २ गते नेकपा माओवादी र कांग्रेस प्रदेश सभा दलबीच सरकारको नेतृत्व आलोपालो गर्ने गरी ११ बुँदे सहमति भएको थियो।

शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाहीले पहिलोपटक सभासद जितेका हुन। त्यसअघि २०६४ मा पहिलो संविधानसभा सदस्यमा लडेका शाही माओवादीका उम्मेदवारसँग पराजित भएका थिए। 

मन्त्री हुँदा काठमाण्डौं उत्रने पर्यटकलाई ट्याक्सी चालकले दुःख दिने गरेको सुचनापछि उनी स्वयम पर्यटक वनेर ट्याक्सी चढी सहरका होटल–होटल पुगको थिए । यो प्रकरणपछि उनको चर्चा चुलिएको थियो । 

२०२१ फागुन २० गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तर्गत खर्पेलमा जन्मेका शाहीको विगत निकै नै संघर्षपूर्ण छ । बाबु मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट जन्मिएका उनले माध्यमिक तहको शिक्षा काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट पूरा गरे।

कर्णाली प्रदेशको अत्यन्तै विकट जिल्लामा जन्मिएका शाहीको सुरूआती ‘करियर’ भने पाइलट थियो। त्यसैले विज्ञान विषयमा उच्च माध्यमिक शिक्षा पूरा गरेपछि उनी पाइलटको तालिम लिन अमेरिका गए। अमेरिकाको एभिएसन स्कुलमा उनले पाइलटको तालिम लिएका छन्। कोर्षपछि एक वर्ष जहाज उडाएको अनुभव पनि उनीसँग छ।

त्यसपपछि उनलाई एसियाना एअरलाइन्समा पाइलटका लागि अफर आएको थियो। तर, उनले त्यसलाई छोडेर नेपालमै काम गर्ने उद्देश्य बोकेर फर्किए। नेपाल फर्किएर उनले नेपाल एयरलाइन्समा जोडिने प्रयास समेत गरेका थिए।

युवाअवस्थामै नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका शाही १६ वर्ष लगातार हुम्ला जिल्ला सभापति बनेका थिए। २३ वर्षदेखि ३९ वर्ष हुँदासम्म जिल्ला सभापति बनेका उनी कांग्रेस हुम्लाको संस्थापक सभापति समेत हुन्।

कांग्रेसको विद्यालय शिक्षा विभागको प्रमुख भएर पनि उनले काम गरिसकेका छन्। एक कार्यकाल हुम्ला जिल्ला विकास सभापतिको रूपमा पनि उनले कार्यभार सम्हालेका थिए। एमए (राजनीतिशास्त्र) सम्मको शिक्षा हासिल गरेका उनी कर्णालीमा छुट्टै बौद्धिक छवि भएका नेताका रुपमा स्थापित छन् । उनले ३० भन्दा बढी देशको भ्रमण गरेका छन् । थुप्रै देशको राजनीतिलाई बुझेका उनको राजनीतिक यात्रा भने २०४६ सालबाट सुरु भएको हो ।

प्रजातन्त्रका लागि संघर्ष गर्ने क्रममा केही समय भूमिगत भएका शाहीले १५ दिन जेल जीवन समेत बिताएका छन् । यस्तै, २०६२÷०६३ मा उनले ३ महिना जेल बिताए । शाही हुम्ला जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनले ४ हजार ५१९ मत ल्याएका थिए ।

मुलुक संघीयता गएसँगै कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नकै लागि भन्दै उनले प्रदेशसभामा चुनाव लडेका थिए । तर, नेपाली काँग्रेसले हुम्लाबाहेक अन्य ठाउँमा प्रत्यक्ष चुनाव जित्न असफल भएपछि उनको सपना अधुरो रह्यो । 

शाहीले प्रत्यक्ष एक सिट जितेको बाहेक समानुपातिकबाट कर्णालीमा काँग्रेसका थप ५ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यको १५ प्रतिशत हिस्सा भएर पनि अन्ततः शाहीले मुख्यमन्त्री बन्ने लक्ष्य पूरा गरेरै छाडे । तत्कालीन नेकपाको सरकार हुँदा कर्णालीमा प्रतिपक्षीका रुपमा पनि काँग्रेस निकै कमजोर र रक्षात्मक अवस्थामा थियो । तर, प्रतिपक्षका रुपमा शाहीले रचनात्मक भूमिका खेलेको भन्दै प्रशंसा नै हुने गरेको थियो ।

तीन कार्यकालयता कांग्रेसमा केन्द्रीय सदस्यकै रूपमा रहेका शाही विगत दुई वर्षदेखि हुम्लामा चीनले सीमा मिचेको विषय उठाएर पनि चर्चामा रहे । यही प्रकरणपछि उनलाई चाईना विरोधीको आरोप लाग्ने गरेको छ। ०७७ सालमा चीनले नेपाली भुमि मिचेर भौतिक संरचना निर्माण गरेको विषय चर्चामा आएपछि उनै शाहीलाई लिमी उपत्यकाको स्थलगत भ्रमणमा पठाईएको थियो । भ्रमणवाट फर्केपछि शाहीले पार्टीको केन्द्रीय कार्यालयमा रिपोर्ट बुझाए । त्यसैका आधामार असोज २८ गते कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै हुम्लामा चीनले सीमा मिचेको तर, नेपाल सरकारले मिचेको छैन भनी राष्ट्रघात गरेको आरोप लगाएका थिए ।

यो पनि

पिलर हालेदेखि चलाएकै छैन भन्ने चीनले रातारात कसरी नयाँ वनायो ‘१२ नम्वर पिलर’

जीवनबहादुर शाही

विशेष