News विदेश

इन्धन बोकेको ट्यांकर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १०८ पुग्यो

इन्धन बोकेको ट्यांकर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १०८ पुग्यो

सियरा लिओनमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या १०८ पुगेको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका छन् ।

घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ । उनीहरुको शरीर जलेको बताइएको छ । पराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले १०८ जनाको मृत्यु भएको र अस्पतालमा अरु करिब ९० जनाको उपचार भइरहेको पनि जानकारी दिए । 

उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । चिकित्सकहरुले दिएको जानकारीमा घाइते हुनेमा महिला र बालबालिका पनि छन् । तीमध्ये कतिपय दुर्घटनास्थलका स्थानीय छन् भने अरु केही सडकमा यात्रा गरिरहेका व्यक्ति पनि परेका छन् । 

सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रबार साँझतिर दुर्घटनामा भएको थियो । इन्धन बोकेको ट्यांकर अर्को एउटा सवारी साधनसँग ठोक्किएपछि इन्धन पोखिएको थियो । पोखिएको सो इन्धन उठाएर लैजान स्थानीय व्यक्तिहरुबीच निकै भिडभाड भएको थियो ।

त्यस्तै यी दुई सवारी साधन ठोक्किएपछि त्यस समयमा सडकमा पनि मानिसहरु हिँडेका र केही भने आफ्नै सवारी साधनमा रहेका थिए । उनीहरु पनि सो दुर्घटनामा परेका थिए । उनीहरुलाई नै पछि आगोले छोएको थियो ।

आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको देखिएको थियो  । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् । 

पोखिएको सोही इन्धनमा आगो सल्किएकाले आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए ।  राष्ट्रपति जुलियस मादा बायोले देशमा निकै ठूलो मानवीय क्षति भएको बताएका छन् । यस दुर्घटनाले आफूलाई अति दुखित बनाएको उनले बताएका छन । 
 

विशेष