News राजनीति

ओलीलाई रावल र भुसालको चुनौतीः सर्वसम्मत हुन नदिन उम्मेदवारी दिने तयारी

ओलीलाई रावल र भुसालको चुनौतीः सर्वसम्मत हुन नदिन उम्मेदवारी दिने तयारी

मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी चलिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दशबुँदे सहमति कार्यान्वयन विषयको ‘च्याप्टर क्लोज्ड’ गर्दै दशौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने आन्तरिक गृहकार्य थालेका छन ।

पार्टीभित्रको पछिल्लो शक्तिसन्तुलनलाई ध्यान दिँदै सर्वसम्मत नेतृत्व चयन गर्ने र सुदृढ एकताको सन्देश दिने ओलीको योजना छ । दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने दशबुँदे सहमति उपेक्षा गर्दै ओलीले दशौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव गरेका छन् ।सहमतिअनुसार केन्द्रीय सदस्य थप्दा महाधिवेशनमा आकांक्षी बढ्न सक्ने र उनीहरूको व्यवस्थापन जटिल हुने ओलीको बुझाइ छ । 

दशबुँदे सहमतिको पाँचौँ बुँदामा ‘पार्टीमा योगदान गर्नुभएका कमरेडहरूलाई मौजुदा केन्द्रीय कमिटीको कुल संख्याको दश प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनीत गरिनेछ’ भन्ने व्यवस्था छ । तर, पार्टी छाडेर विभाजनमा लागेका रिक्त स्थान र विधानअनुसार दश प्रतिशत मनोनयन गर्दा महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयासमा बाधा पुग्ने ओलीको निष्कर्ष छ । 

त्यसमाथि पनि ओलीले पूर्वमाओवादी नेताहरुलाई प्राथमिक्तामा राखेका छन् । त्यही कारण १० वुँदेलाई आधार मानेर एमालेमा रहेका एक थरी नेताहरूले ओलीको कार्यशैलीप्रति आलोचना गरिरहेका छन् । पार्टीभित्रका असन्तुष्ट मतप्रति अनुदार ओलीले पूर्वमाओवादी समूहलाई महत्व दिएर माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि दबाब बढाउन खोजेको नेताहरू बताउँछन ।

जानकारी अनुसार रामवहादुर थापा ‘बादल’ को आग्रहमा ओलीले चितवनमा पार्टीको महाधिवेशन गराउने निर्णय गरेका हुन। चितवन नेता थापा र माओवादी केन्द्रका अध्यक्ष दाहालको गृह जिल्ला हो । दाहालले ‘लोकतन्त्रवादी (गठबन्धन) र प्रतिगामी शक्ति (एमाले) बीच चितवनमा महाभारत हुने’ बताएको एक साता नपुग्दै ओली र थापा चितवन गएका थिए । ओलीले थापालाई नै महाधिवेशन मूल व्यवस्थापन समितिको नेतृत्व दिएका छन । 

यही कारण एमाले विभाजनलाई रोक्नका लागि अध्यक्ष ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै अड्किएका भीम रावल, घनश्याम भुसालसहितका नेताहरु अहिले असन्तुष्ट छन् । उनीहरुले १० बुँदेमा सहमतिमै फरक मत राख्न थालेका छन् ।

१० बुँदे मात्र होइन्, सुरेन्द पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसम्मका नेताहरु १० बुँदेलाईमात्र आधार मान्न नहुने तर्क गर्न थालेपछि ‘१० बुँदे सहमति’मा १० भाईमै एकमत देखिएको छैन। धेरै नेताहरु १० बु“दे सहमति कार्यान्वयनको कुरा सुदूरपश्चिममा मात्रै हो भन्न थालेका छन् भने सुुदूरपश्चिममा पनि भीम रावलको इञ्चार्ज पदका लागि पनि मात्रै भएको भन्न थालिएको छ। त्यसैले अध्यक्ष ओलीले पनि रावलका लागिमात्रै सम्झौता नगर्ने बताउ“न थालेका छन् ।

१० वुँदेको वेवास्ता र फरक मत विरुद्ध अनुदार देखिएपछि अध्यक्ष ओली विरुद्ध भिम रावल र घनश्याम भुसाल असन्तुष्ट छन् । उनीहरुले आउने दशौं महाधिवेशनमा ओलीलाई सर्वसम्मत हुन नदिने योजना वनाउन थालेको वताईन्छ। भुसालले आफूनिकट केही नेताहरुसँग सर्वसम्मत चयन हुन नदिनका लागि आफू जसरी पनि केपी ओलीसँग प्रतिस्पर्धा गर्ने भनिरहेका छन् ।

आफूमाथि लागेका आरोपहरुको खण्डन गर्नका लागि पनि भुसालले अध्यक्षमा उम्मेदवारी दिनुपर्ने बाध्यता भएको बताउने गरेका छन् । तर,  रावलसँग सरसल्लाह गरेर मात्रै केपी ओलीस“ग प्रतिस्पर्धा गर्ने भनेर भुसालले बताउने गरेको श्रोत बताउछ । रावल र भुसालमध्ये एकजना अध्यक्षको उम्मेदवार हुने तयारी गरेको बुझिन्छ ।

एकीकृत समाजवादीले पदाधिकारी चयन गर्ने बेलामा रावल नै माधव नेपालसँग आउन खोजेको पनि चर्चा चलेको थियो । त्यतिबेला रावलको नेतृत्वमा झपट रावल, भानुभक्त जैसीसहितका नेताहरु एकीकृत समाजवादीमा जाने तयारीमा थिए। अन्तिममा रावल रोकिएको एकीकृत समाजवादीका एक नेताको भनाई छ । जैसी भने एकीकृत समाजवादीमा गएर स्थायी कमिटी सदस्य भएका छन् । 

नेकपा एमाले केपी शर्मा ओली महाधिवेशन

विशेष