News स्वास्थ्य

२२ देशमा फैलियो ओमिक्रोन, विदेश भ्रमण नगर्न सरकारको आग्रह

२२ देशमा फैलियो ओमिक्रोन, विदेश भ्रमण नगर्न सरकारको आग्रह

नाइजेरिया र साउदी अरबमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेपछि ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकको संख्या २२ पुगेको छ।

बुधबार नाइजेरिया २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। संक्रमित दुवै जना गत हप्ता दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन। 

यस्तै साउदी अरबमा पनि एकजना कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । दक्षिण कोरियामा पनि ओमिक्रोनका संक्रमित फेला परेका छन् । हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पत्तीमा ओमिक्रोन देखिएको वताईएको छ।

नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा १२ वटा छन् । युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ । बेलायतमा मात्रै ओमिक्रोन संक्रमितको संख्या २२ पुगेको छ ।

एसियामा जापानसहित इजरायल, दक्षिण कोरिया र हङकङमा ओमिक्रोन फेला परेको छ । त्यस्तै, अष्ट्रेलियामा ओमिक्रोन संक्रमितको संख्या ६ पुगेको अधिकारीहरूले बताएका छन् । यसमध्ये ५ जना न्यू साउथ वेल्सका र १ जना नर्दन टेरिटरीका रहेका छन् ।

सुरुमा पहिचान भएको दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित ७७ पुगेका छन् भने बोत्स्वानामा १९ जनालाई यो भेरियन्टले संक्रमण गरेको छ । क्यानाडामा समेत ३ जनामा ओमिक्रोन पुष्टि भएको छ । 

ओमिक्रोनको वढ्दा खतरालाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डा. अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए । 
 

ओमिक्रोन

विशेष