News राजनीति

दुई महामन्त्रीका लागि ६ जनाको प्रतिस्पर्धा, तीन युवा नेताको भाग्यको परिक्षा

दुई महामन्त्रीका लागि ६ जनाको प्रतिस्पर्धा, तीन युवा नेताको भाग्यको परिक्षा

नेपाली कांग्रेसको १४ औं महाधिवशेनबाट २ जना निर्वाचित महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ। गगन थापा, डाक्टर प्रकाशशरण महत, प्रदीप पौडेल, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर राजाराम कार्की र विश्वप्रकाश शर्मा महामन्त्रीका लागि प्रतिष्पर्धामा उत्रिएका छन्।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र गगनकुमार थापा अनि प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा र निधिको समूहबाट राजाराम कार्कीबीच प्रतिस्पर्धा हुँदै छ ।

महामन्त्रीमा विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेकाको बाहुल्य छ । कुनै बेला एउटै टिममा रहेका उनीहरू अहिले प्रतिस्पर्धीका रूपमा खडा भएका छन । शर्मा, थापा र पौडेलले कांग्रेसमा तेस्रो पुस्ताको प्रतिनिधित्व गर्छन। थापा र पौडेल केही समयसम्म सिटौला समूहमा सँगै थिए । सिटौला समूहबाट थापा अलग्गिएपछि पौडेलले मौका पाएका हुन । थापाले आफूलाई छाडेकामा सिटौला असन्तुष्ट छन ।

शर्मा देउवासँगै थिए । देउवाले युवा अनुहार देखाउनकै लागि उनलाई पार्टीको प्रवक्ता बनाएका थिए । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उनले झापाको राजनीतिमा लामो समय बिताए । नेविसंघको अध्यक्ष, जिल्ला पार्टी सभापति हुँदै १३ औं अधिवेशनमा पार्टीको केन्द्रीय सदस्य जितेका थिए । गत संसदीय निर्वाचनमा झापाबाट पराजित भएपछि उनले केन्द्रीय राजनीतिमा सक्रियता बढाएका थिए ।

सभापति देउवाले प्रवक्ता बनाए पनि त्यहाँ आफ्नो स्थान नदेखेपछि उनी अलग भएका हुन । देउवाले सभापति जित्न कृष्णप्रसाद सिटौलासँग गठजोड गरी प्रदिप पौडेललाई महामन्त्री वनाउने निर्णय लिएपछि उनी रुष्ट भएर प्रकाशमान सिंहको समुहमा पुगेका हुन । उनले विमलेन्द्र निधिको समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने कसरत पनि गरेका थिए ।


दुई जनाको एउटै पदमा तीन जना होनहार युवाले उम्मेदवारी दिएपछि महाधिवेशन प्रतिनिधि अन्यौलनमा परेका छन् । 

तीन युवा नेपाल विद्यार्थी संघका पछिल्लो पुस्ताका चर्चित नेता हुन । नेविसंघको महामन्त्री भएका थापा दुई पटक संविधानसभा सदस्य हुँदै पछिल्लो समय काठमाडौंबाट निर्वाचन जितेर सांसद बनेका हुन । 

अर्का युवा नेता पौडेल महामन्त्रीका परिचित उम्मेदवार हुन । सिटौलाले देउवा समूहलाई समर्थन गरेपछि उनले महामन्त्रीमा उम्मेदवारी दिएका हुन । नेविसंघ अध्यक्ष हुँदै राजनीतिमा क्रियाशील उनले १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा लोकप्रिय मत प्राप्त गरेका थिए ।

नयाँ नेतृत्व छान्नका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ। कांग्रेसका ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मत खसालीसकेपछि मत गणना सुरू हुनेछ।
 

नेपाली काँग्रेस महामन्त्री

विशेष