News राजनीति

लिङ्देनको समर्थन गर्दै कांग्रेस कार्यकर्ताले प्रचण्डलाई हुटिङ गरेपछि...

लिङ्देनको समर्थन गर्दै कांग्रेस कार्यकर्ताले प्रचण्डलाई हुटिङ गरेपछि...

मंसिर २४ गते नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिब्यक्तिका कारण देशमा अहिले तरंग उत्पन्न भएको छ। राजावादी दल राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले जनताले अचेल गाउँमा जाँदा ‘नेतालाई कुन चाहिँ चोर आएछ भन्छन’ भनेर अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा खैलावैला मच्चियो।

शुभकामना मन्तब्यका क्रममा राप्रपा अध्यक्ष लिङ्देनले जनताको नजरमा पछिल्ला दिनमाहरूमा नेताहरूको विश्वसनीयता निकै गिरेको बताएका थिए। उनले गाउँमा जाँदा नेताहरूलाई जनताले ‘कुन चोर आयो’ भन्ने गरेको बताए।

‘पार्टीका कार्यकर्ताले एउटा चौतारोमा, एउटा सामुदायिक भवनमा नेताहरू बोलाएर राख्छन् र छरछिमेकीलाई आमन्त्रण गर्न जान्छन्। आउनु न एक छिन फलानो चौतारोमा अर्थात् फलानो सामुदायिक भवनमा हाम्रो नेता आउँदै हुनुहुन्छ’ भन्छन् । नेता आउँदै हुनुहुन्छ भन्दाखेरि मान्छेले आजकल कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैनन्। कुन चाहिँ चोर आएछ आज त्यहाँ भनेर भन्छन्’ उनले भनेका थिए।

उनले समग्रमा राजनीति र नेताहरु प्रति जनताले राम्रो सोच राख्न छोडेको भन्दै आफुलाई पनि तिनै चोरहरुको लाईनमा उभ्याए। तर, लिङ्देनको भनाइलाई उनीपछि बोलेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीहरू पुस्पकमल दाहाल प्रचण्डले सहज रुपमा पचाउन सकेनन् । उनिहरुले लिङ्देनले नेताहरुलाई चोर भनेर राजतन्त्र पुनर्स्थापित गरिनै हाल्ने भयो भने जसरी ब्यवहार देखाए ।

एमाले अध्यक्ष ओलीले लिङ्देनले भर्खर भर्खर चुनाव जितेको जोस देखाएको रुपमा प्रतिक्रिया दिए । ओलीले भने, ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन? हरेक नेता चोर हुन्छ? यस्ता कुरा बोकेर हिँड्ने? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको राप ताप होला केही साथीहरूलाई। त्यस राप तापमा अलिकति, भर्खर भर्खरको बाछो हिँड्न जान्दैन अलि बढी कुद्छ क्या! नयाँ नयाँ सभापति भएको अलिकति राप ताप होला अलिक समयमा ठिक आउँला भन्ने मलाई लाग्छ।’ 

यसअघि वोलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि लिङ्देनलाई जवाफ दिन खोजे । उनले ‘तानाशाही जन्माउन’का लागि लोकतान्त्रिक दल र नेताहरूलाई बदनाम गराउन खोजिएको दाबी गरेका थिए ।

दाहालले भने, ‘नेताहरू आए भने अहिले देशमा गाउँघरमा ‘चोर आयो’ भन्छन् जनताले भन्नुभयो, तपाईँहरूले सुन्नुभयो।’ सहभागिहा तर्फवाट हुटिङ भयो– हो...। जनसथमर्थन खोजेका प्रचण्डले फेरी सोधे–‘यो साँचो हो त साथीहरू?’ सहभागिहरुवाट उनको विपक्षमा फेरी हुटिङ हुन्छ– हो ...। यति भनेपछि प्रचण्ड सक्पकाउँछन। उनले भन्छन्– ‘होइन, गलत हो।’ यति भन्दा पनि कांग्रेस महाधिवेशनका सहभागिहरुको तर्फवाट आवाज आउँछ– हो...।

सहभागिहरु लिङ्देनको पक्षमा र आफनो विपक्षमा रहेको वुझेका प्रचण्डको वोलिको टोनमै परिवर्तन आउँछ। त्यसपछि उनले भन्छन्–‘यो केको निम्ति भनियो? जति बेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका, शान्तिको निम्ति सङ्घर्ष गरेका राजनीतिक दल र नेताहरूलाई बदनाम गर्न खोजिन्छ, त्यहाँ निरङ्कुशता र तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ।’

यसअघि माधवकुमार नेपालले त लिङ्देनको भनाई प्रति लक्षित गर्दै राजालाई एउटा पार्टी खोल्न वा ब्यापार गर्न पनि सुझाई दिन भ्याए ।

तर, त्यसपछि भने लिङ्देन चर्चामा छन् । समाजिक सञ्जालमा पनि उनको अभिब्यक्तिको पक्ष र विपक्षमा तर्क÷वितर्क भईरहेका छन् । कैयौँले सामाजिक सञ्जालमा उनले भनेको कुरा यथार्थ भएको बताएका छन्।

नेता लिङ्देनले भनेजस्तै नेपाली समाजमा पछिल्ला समयमा नेताहरू र राजनीतिक दलप्रति वितृष्णा बढिरहेको पाईन्छ। सामाजिक सञ्जालमा पनि नेताहरूलाई गाली गरिएका अभिव्यक्तिहरू देखिने गरेका छन्। 

लेखक अभय श्रेष्ठले उनकै जस्तो आत्मालोचना अरूले पनि गर्नसके स्थिति फरक हुने लेखेका छन्। ट्वीटरमा उनी लेख्छन्–‘राजेन्द्र लिङ्देन राप्रपा भएकैले उनको ‘चोर’ फन्डालाई गलत भन्न मिल्दैन । सबभन्दा महत्वपूर्ण कुरा त्यो ‘चोर’ समूहमा उनले आफै पनि छु भन्ने स्वीकार गरे । सबैले यति मात्रै आत्मालोचना गर्न सकेको भए स्थिति धेरै फरक भइसक्थ्यो ।’

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले ट्विटरमा राजेन्द्र लिङ्देनको कुरा जमिनको यथार्थ रिपोर्टिङ भएको वताएका छन् । ‘लोकतन्त्रका निम्ति संघर्ष गरेको नेता भन्ने बित्तिकै राज्य लुटका जति सुकै श्रृंखलावद्ध अपराध पनि माफ हुने हो? नेताले त्यस्तो ब्याज खाने र नागरिकले चुपचाप खान दिने दिन अब अन्त्य नजिक छ’ उनले लेखेका छन्–‘राजेन्द्र लिङ्देन जी को कुरा जमिनको यथार्थ रिपोर्टिङ्ग हो। चोरहरूका खुट्टा लुला भईसके।’

यति मात्रै होईन लिङ्देनको पक्षमा सामाजिक सञ्जालमा अहिले समर्थन जेटिरहेको छ।
 

नेपाली काँग्रेस राजेन्द्र लिङ्देन पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष