News

शेरधनको कोठावाट निकालियो सरकारी सामान, कोसी प्रोजेक्टमा मुख्यमन्त्रीको क्वाटर

शेरधनको कोठावाट निकालियो सरकारी सामान, कोसी प्रोजेक्टमा मुख्यमन्त्रीको क्वाटर

प्रदेश १ का पुर्वमुख्यमन्त्री शेरधन राईले सरकारी सुविधामा प्रयोग गरिरहेका सम्पुर्ण सामान निकालिएको छ। मुख्यमन्त्री राजेन्द्र राई सरकारी क्वाटरमा वस्ने भएपछि सरकारी रकमवाट मुख्यमन्त्रीका लागि किनिएका सामान निकालिएको हो ।

मुख्यमन्त्री राई आजैदेखि विराटनगर स्थित महेन्द्र चोकबाट दक्षिणमा रहेको सुनसरी मोरङ सिंचाई आयोजना (कोशी प्रोजेक्ट) को भवनमा सर्ने भएका छन् । कोशी प्रोजेक्टको गेष्ट हाउसलाई नै क्वाटरको रुपमा प्रयोग गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

यसअघि प्रदेश सरकारले मुख्यमन्त्रीका लागि घरभाडा वापत रकम उपलब्ध गराउँदै आएको थियो । सोही अनुसार शेरधन राई मुख्यमन्त्री हुँदा आवश्यक सामान खरिद गरिएको र अहिले ति सामान कोशी प्राजेक्टमा सारिएको स्टोर किपर किरण ढकालले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री राई राष्ट्र वाणिज्य वैंकको गेष्ट हाउसमा वस्दै आएका थिए । प्रदेश सरकारले मन्त्री तथा सचिवहरुका लागि अहिलेसम्म क्वाटरको ब्यवस्था गर्न सकेको छैन। अधिकांश मन्त्री तथा सचिवहरुले भाडाकै संरचनामा काम चलाईरहेका छन् ।

गत आर्थिक वर्षमा सरकारले घर भाडा बापत मात्रै ४ करोड २१ लाख १२ हजार रुपैयाँ खर्च गरेको थियो। यसैगरी जग्गा भाडामा २० लाख खर्च भएको थियो ।

नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री भएपछि क्वाटरको खोजी हुँदा कोशी प्रोजेक्टको गेष्ट हाउसमा वस्ने इच्छा ब्यक्त गरेकाले सामान त्यहाँ सारिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
 

प्रदेश १ शेरधन राई राजेन्द्र राई

विशेष