News विदेश

हामीले शिर झुकाएर रहनु परेपनि नेपालसँगको सम्बन्ध बिगार्दैनौँ : भारतीय रक्षा मन्त्री राजनाथ सिंह

हामीले शिर झुकाएर रहनु परेपनि नेपालसँगको सम्बन्ध बिगार्दैनौँ : भारतीय रक्षा मन्त्री राजनाथ सिंह

कतिपय भारतीय नेताहरूले चीनले नेपाल र भारत बीचको सम्बन्ध बिगार्न भूमिका खेलेको आरोप लगाईरहेका वेला भारतीय रक्षा मन्त्री राजनाथ सिंहले पनि ‘केही तत्वहरूले नेपाल र भारत बीच सम्बन्ध बिगार्न चाहेको’ बताएका छन्। तर, उनले भने चीनको नाम लिएनन्।

भारतको उत्तराखण्ड राज्यमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तेश्रो पक्षले दुई देश विचको सम्वन्ध विगार्न चाहेको वताए । उक्त कार्यक्रममा बोलेको ३२ मिनेट ४६ सेकेन्डको भिडियो आफ्नै ट्विटर एकाउण्टमा सेयर गरेका सिंहले भनेका छन्‘उत्तराखण्डको जहाँसम्म सवाल छ। नेपाल र तिब्बतको सीमा यससँग जोडिन्छ। नेपालको जहाँसम्म प्रश्न छ– नेपालसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ। नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ। तर म यो जानकारी तपाईँलाई दिन चाहन्छु– केही तत्वहरू यस्ता छन्, जसले नेपाल र भारतको सम्बन्ध खराब गर्न चाहन्छन्।’

मन्त्री सिंहले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै बिगार्न नचाहेको पनि स्पष्ट पारेका छन् । आफुहरुले शिर झुकाएर रहुन परेपनि नेपालसँगको सम्वन्ध टुट्न नदिने उनले वताए । ‘म सरकारको प्रतिनिधि भएको हिसाबले के भन्न चाहन्छु भने चाहे जेसुकै होस्, हामीलाई शिर झुकाएर रहनु किन नपरोस् तर हाम्रो छिमेकी नेपालसँग हाम्रो सम्बन्ध टुट्न दिँदैनौँ’ उनले भनेका छन्–‘हाम्रो नेपालसँगको सम्बन्ध कहिल्यै बिग्रन दिँदैनौँ।’

सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गरेका थिए।

त्यसपछि भारतसँग नेपालको सम्वन्ध त्यति राम्रो देखिएको छैन। नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट उक्त सडक निर्माण गरिएकाले नेपालले भारतसमक्ष त्यसको कूटनीतिक रूपमै विरोध जनाएको थियो।

उक्त विषयलाई लिएर नेपाल र भारत एउटा निर्णयमा पुग्न सकेका छैनन् भने दुई देश बीचको सम्बन्धमा पनि उल्लेख्य सुधार हुन सकेको छैन।
बीबीसीको सहयोगमा

राजनाथ सिंह

विशेष