News

एक्जियाटाले सोध्यो एनसेललाई स्पष्टिकरण, डन प्रवृत्ति उस्तै (श्रृंखला– ९)

एक्जियाटाले सोध्यो एनसेललाई स्पष्टिकरण, डन प्रवृत्ति उस्तै (श्रृंखला– ९)

दुरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’को केन्द्रीय कार्यालयमा विगत ६ महिनादेखि भईरहेको आन्दोलन तथा कम्पनी भित्र देखिएका विकृती, विसंगती, गलत ब्यवहार, कर्मचारीमाथि भएका विभेद र त्यसभित्रका केही कर्मचारीहरुको डन प्रवृत्ति विरुद्ध नेपाल आजले श्रृंखलावद्ध समाचार प्रकाशन गरेपछि त्यसका सिइओ (प्रमुख कार्यकारी अधिकृत) एण्डी चोङलाई एक्जियाटाले स्पष्टिकरण सोधेको छ।

मलेसियाको मल्टिनेशनल कम्पनी एक्जियाटा अन्तर्गत नेपालमा ‘एनसेल एक्जियाटा लिमिटेड’का नामले सञ्चालन भईरहेको त्यसका सिइओलाई समाचारका विषयमा स्पष्टिकरण सोधिएको हो। एक्जियाटाले ‘समाचारका विषयमा के भएको हो’ भन्दै प्रश्न गरेपछि एण्डी चोङले भने त्यस्तो केही समस्या नरहेको र फेक न्यूज प्रकाशन भएको भन्दै जवाफ पठाएको स्रोतले जनाएको छ।

यसअघि एनसेलले नेपाल आजलाई पित पत्रकारीता गरेको आरोप लगाएउँदै खण्डन पठाएको थियो । एनसेलले नेपाल आजमा प्रकाशित समाचार हटाउँन पटक–पटक दवाव दिँदा समेत सुनुवाई नभएपछि पहिलो चरणमा कर्मचारीले फोन गरेर धम्की दिएका थिए । दोस्रो चरणमा तेश्रो ब्यक्ति प्रयोग गरेर समाचार हटाउन दवाव श्रृजना गरियो। 

त्यसमा पनि असफल भएको एनसेलले नेपाल आजलाई प्रलोभनमा पार्ने प्रयास समेत गरेको थियो। ‘आउटरिच नेपाल प्रालि’ नामको एजेन्सीलाई परिचालित गरी विज्ञापन लिन र समाचार हटाउन प्रस्ताव पठाइएको थियो ।

कुनै अस्त्रले काम नगरेपछि एनसेलले खण्डनका लागि पत्राचार गर्दै पित पत्रकारीता गरेको आरोप लगाएको छ। तर, समाचारमा उल्लेख भएका विषयवस्तुमा भने एनसेलले कुनै जवाफ दिएको छैन। वरु आन्दोलनरत कर्मचारीलाई डर÷त्रास देखाएर समाचार आधिकारीक स्रोतवाट नआएको भन्दै खण्डन निकाल्न लगाईएको थियो। 

नेपाल आजले एनसेलमा भईरहेको आन्दोलन, त्यहाँ भईरहेको नेपाली कर्मचारी माथिको विभेद, श्रम शोषण, २/२ वर्षमा तलव सुविधा वृद्धि गर्ने सहमति विपरितका काम लगायतका विषयमा वुझ्न पटक–पटक सम्पर्क गर्दा समेत कम्पनीका आधिकारीक कर्मचारीहरु भने प्रतिक्रिया दिन इन्कार गर्दै आएका छन् । प्रतिक्रियाका लागि पुगेका नेपाल आजका सहकर्मी पत्रकारलाई उनीहरुले प्रतिक्रिया नदिने मात्रै होईन, आन्दोलनरत कर्मचारीलाई समेत मिडियामा सुचना चुहाए जागिरवाट हात धुनुपर्ने भन्दै धम्की दिएका थिए। यो कुरा आन्दोलनकारी कर्मचारीले वताएका छन् ।

कम्पनीका मानव संसाधन तथा प्रशासन प्रमुख युवराज श्रीवास्तव (भारतिय नागरिक) ले कर्मचारीहरुलाई बमले उडाउनेसम्मको धम्की दिने गरेका छन् । उनले आफुलाई अमेरिकी गुप्तचर संस्था सिआइए र पाकिस्तानी गुप्तचर संस्था आईएसआईसम्मको एजेन्ट भएको वताउने गरेका छन् । श्रीवास्तवले कसैलाई सिआईए र कसैलाई आईएसआईको नाममा धम्की दिने गरेको श्रोतले जनाएको छ।

श्रीवास्तवले कर्मचारीहरुलाई भनेजस्तो नगरे र आफुलाई समस्या पर्ने काम गरे ‘बम हानेर उडाईदिने’ धम्की दिने गरेका छन्। यसैगरी, ब्यवस्थापन पक्ष कमजोर भएको, कर्मचारीहरुमा चरम असन्तुष्टी वढेको, आन्तरिक समस्या समेत समाधन गर्न नसकेको विषयमा कम्पनीका सिईओ चोङको पनि आलोचना हुन थालेको छ।

कर्मचारीको आन्दोलन तथा असन्तुष्टी वाहिरिएपछि उनी पनि आन्दोलनरत कर्मचारी प्रति असन्तुष्ट देखिएका छन् । कतिपय कर्मचारीलाई ब्यक्तिगत रुपमा भेटेर उनले जागिरवाट निकाली दिने धम्की  समेत दिन थालेको स्रोतको दावी छ। कम्पनीका सिइओले नै धम्की दिन थालेपछि कर्मचारीहरु त्रासमा छन् । समाचार हटाउने नेपाल आजलाई फोन गर्ने कर्मचारीले पनि उनकै निर्देशन अनुसार काम गरेको जनाईएको छ।

नोटः एनसेलका एचआर म्यानेजर युवराज श्रीवास्तवको महिला प्रतिको आकर्षण तथा कर्मचारीहरुप्रति गर्ने दुर्ब्यवहारलगायतका विषयको सामग्री अर्को अंकमा प्रकाशित गरिने छ। 


यो पनि


▶ एनसेलमा कर्मचारीको आन्दोलन जारी, आधिकारीक स्रोत प्रयोग गर्न आग्रह (श्रृंखला– ८)

▶ जनता चुसेको र कर्मचारीलाई शोषण गरेको खुलासा गर्दा एनसेलले भन्यो– पित पत्रकारिताको पराकाष्ठा (श्रृंखला– ७)

▶ एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)

▶ एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)

▶ एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)

▶ एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)

▶ आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)

▶ एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)

एनसेल

विशेष