कांग्रेसको केन्द्रीय सदस्य वन्दै गुण्डा नाईके गणेश लामा
नेपाली कांग्रेसका खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ। २ हजार ९९३ मत गन्दा निवर्तमान महामन्त्री डा. शशांक कोइराला सवैभन्दा अगाडि छन् ।
उनले सर्वाधिक २४४२ मत ल्याइसकेका छन्। शशांकलाई देउवा प्यानलकै एनपी साउदले १८९६ मतसहित पछ्याइरहेका छन्। त्यसपछि क्रमशा बालकृष्ण खाँण, उदयशमशेर राणा, रमेश लेखक, शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसीलगायतका नेता छन् ।
आश्चर्यको विषय के छ भने गुण्डा नाईके भनेर कहलिएका गणेश लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने सम्भावना अत्याधिक देखिएको छ। ३५ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा उनी १ हजार १३४ मतसहित ३०औं नम्वरमा छन् ।
को हुन गणेश लामा ?
गणेश लामा ०७५ साउनमा सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका ब्यक्ति हुन। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा लामालाई दोषी ठहर गरेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनले आपराधिक गतिविधि सुरू गरेको १२ वर्षमा २७ करोड रुपैयाँ कमाएको जनाएको छ।
लामालाई प्रहरीले २०७४ फागुन ३० गते राजधानीको गौशालामा रहेको पशुपति भिजनमा होटलबाट पेस्टोलसहित पक्राउ गरेको थियो। होटलमा गोली चलेपछि पुगेको महानगरीय प्रहरी वृत गौशालाको टोलीले लामालाई एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो ।
विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामा गच्छदारसँगै कांग्रेसमा फर्केका थिए । लामा गत प्रदेश–प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे क्षेत्र नं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उठेका थिए । तर उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भए ।
काभ्रेबाट काठमाडौं छिरेका लामा बाबु पाल्साङका तीनमध्ये माइलीपट्टीका छोरा हुन्। उनी हुर्किंदा बाबु राजनीतिमा थिए। पाल्साङ राप्रपाबाट २०५४ सालको स्थानीय निकाय चुनावमा खरेपागु गाविसको वडाध्यक्ष उम्मेदवार हुन्।
लामा एसएलसी पास गरेपछि राजधानी आए। त्रिचन्द्र कलेजमा आइएस्सी पढ्दापढ्दै गुन्डागर्दीमा लागे। लामाको अपराध यात्रा भने लामो छ। राजधानीमा गुन्डाहरूले प्रभाव जमाउन थालेको ३ दशक पुगिसकेको छ। यो इतिहासको सूत्रपात गुन्डा नाइकेद्वय दीपक मनाङ्गे र चक्रे मिलनबाट भएको हो। यी दुवैका ‘चेला’ गणेश लामा केही वर्षभित्रै राजधानीका तेस्रो ठूला गुन्डाका रुपमा उदाए।
प्रहरीका अनुसार मनाङ्गे र मिलनको फाटो बीचमा लामाको ‘इन्ट्री’ भएको हो। काभ्रेबाट २०५४ सालमा राजधानी आएका लामा सोल्टी होटलको क्यासिनोमा काम गर्थे। त्यहीँ उनको मनाङ्गेसँग भेट भयो।
कालिमाटीका टोले गुण्डा एक दिन क्यासिनो छिर्न आए। लामाले रोके। झडपमा लामामाथि खुकुरी प्रहार भयो। लामा जसोतसो बाँचे। अस्पतालबाट डिस्चार्ज हुँदा मनाङ्गेले लामालाई अन्नपूर्ण होटलको क्यासिनो पुर्याए। राकेश वाद्वाका नाममा राजधानीका अधिकांश क्यासिनो सञ्चालन हुन्थे। क्यासिनोमा उठ्तीपुठ्ती चलाउने मनाङ्गेको वादवासँग चिनजान थियो। वादकै क्यासिनोमा लामालाई पुर्याए।
कराँतेका ब्ल्याक बेल्ट भइसकेका लामालाई वाद्वाले क्यासिनोको सुरक्षा जिम्मा दिए। दरबारमार्ग, ठमेल, नयाँ बानेश्वर, बसपार्क, बालाजु, लाजिम्पाट क्षेत्रका मनाङ्गेले र महाराजगञ्ज, चाबहिल, सुन्धारा, नारायणथान, मूलपानीमा । चक्रेले अपराध धन्दा चलाउँथे।
मनाङ्गे रात्रिकालीन व्यवसाय र चक्रे बालुवाखानीमा केन्द्रित थिए। रकम उठाउने विषयमा उनिहरुवीच विवाद भयो।
चक्रे र मनाङ्गेका विचमा एकअर्कालाई सिध्याउने खेल सुरु भयो। मनाङ्गेभन्दा चक्रे समूह बलियो थियो। त्यसपछि मनाङ्गे समूहमा लामा छिरे। हायात होटलमा भएको ‘ग्याङ वार’ मा मनाङ्गे समूहले चक्रेको हात छिनालिदियो। त्यसपछि मनाङेको ठाउँमा लामा चाही चक्रेका दुस्मन भए। चक्रेको हात काटेको अभियोगमा मनाङ्गे कारागार चलान भए।
मनाङ्गे जेल गएपछि लामाले आफ्नै नेतृत्वमा ‘काभ्रेली समूह’ गठन गरे। बालुवाखानीको हिसाब–किताब नमिल्दा आफ्नै सहयोगी यादव डंगोलको हत्या गरेको अभियोगमा चक्रे कारागार पुगे।
दुवै जेल परेपछि लामा अपराधको दुनियाँका राजा भए ।
२०६२ सालसम्म आइपुग्दा त लामा रक्तचन्दन कारोबारी भनेर चिनिन थाले। २०६५ सालमा विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा सिधै केन्द्रीय सदस्य बने। त्यसपछि त उनलाई राजनीतिक संरक्षणको पनि कमी रहेन।
२०७० सालमा पाँच गुन्डा नाइकेहरूको सम्पत्ति छानविन हुँदा त लामाले गुरू मनाङ्गे र चक्रेलाई पछाडि पारे। २०७० सालमा गच्छदार गृहमन्त्री भए। लामा उनका अघोषित सल्लाहकार।
गच्छदारले लामाको साथ छोडेका छैनन्। गच्छदारकै जोडबलमा गत प्रदेश सभा निर्वाचनमा लामा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार उठेका थिए।
प्रहरीका अनुसार लामाले आफू, बाबु पाल्साङ लामा, भाइ विनोद लामा, आमा रञ्जु लामाका नाममा काठमाडौं, भक्तपुर, ललितपुर काभ्रेका ३६ ठाउँमा जग्गा जोडेका छन्। बाबु पाल्साङले २३ स्थानमा आफ्नो नाममा राखिएको जग्गा बिक्री गरेको भेटिएको थियो।