News

भ्रष्टाचारमा कर्मचारीका श्रीमान–श्रीमतीनै लिप्त !

भ्रष्टाचारमा कर्मचारीका श्रीमान–श्रीमतीनै लिप्त !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो रेकर्ड अनुसार गैरकानुनी सम्पत्ति आर्जन तथा भ्रष्टाचार गर्ने काममा सरकारी कर्मचारीका श्रीमान–श्रीमतीनै संलग्न हुने गरेको पाईएको छ।

अख्तियारले सर्वाजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा यस्तो तथ्य देखिएको हो। २०७७ भाद्र २५ मा सहरी विकास तथा भवन निर्माण विभाग (हाल अवकास प्राप्त) का सिनियर डिभिजन इन्जिनियर काशीप्रसाद गुप्ता र निजकी पत्नी मिता गुप्तासँग १६ करोड ७२ लाख ५७ हजार ४ सय ९७ रुपौया स्रोत नखुलेको सम्पती रहेको अख्तियारले जनाएको छ ।

२०३८ सालमा ओभरसियरबाट जागीर सुरु गरेका गुप्ताको कुल सम्पत्ति मध्ये १ करोड ११ लाख ७० हजार भने वैध तरिकाले कमाएको देखिएको आरोपपत्रमा उल्लेख छ ।

सीडीई गुप्ताको गैरकानुनी आर्जनमा उनकी श्रीमतीको प्रत्यक्ष संलग्नता रहेको अख्तियारको ठहर छ । काशीप्रसादले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने छिपाउने तथा दुरुपयोग गर्ने एवं भोग चलन गर्ने काममा उनकी पत्निको संलग्नता देखिएको छ।

उनले आफ्नो तथा आफन्तको नाममा कारोबार गरी आरोपी गुप्तालाई गैरकानुनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रुपमा लुकाउन छिपाउन सहयोग, दुरुत्साहन गर्ने गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

अख्तियारले सो आरोपमा गुप्ताका आफन्तहरू अन्जुकुमारी महतो, उदितनारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रितिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्तालाई समेत प्रतिवादी बनाएको छ । उनीहरूको नाममा भ्रष्टाचार गरेको १० करोड ४४ लाख रुपैयाँ लुकाएर राखेको अख्तियारको दाबी छ ।

त्यस्तै ०७७ भाद्र २५ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. बलभद्र प्रसाद दाससँग स्रोत नखुलेको सम्पत्ति ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रहेको छ भने ०७७ आश्विन १५ मा जलस्रोत तथा सिंचाइविभागका सिनियर डिभिजन इन्जिनियर सुरेशकुमार शर्मासँग ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रुपौया रहेको जनाईएको छ। अख्तियारले नीजकी पत्नी बबिता फुयाल शर्मालाई पनि प्रतिवादी वनाएको छ।

अख्तियारको प्रतिवेदन अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरी ३ जनाले विभिन्न मितिमा २७ करोड ५१ लाख ५ हजार २ सय ८८ रुपैंया गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाईएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष