News

पूर्वराजा र प्रचण्डका विषयमा ओलीको थप प्रष्टिकरण: वहाँकै मान्छेले भन्दै हिडेका छन्

पूर्वराजा र प्रचण्डका विषयमा ओलीको थप प्रष्टिकरण: वहाँकै मान्छेले भन्दै हिडेका छन्

नेकपा एमालेका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले फेरी पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्रको विचमा भएको ५ वुँदे सहमतिको विषय दोहोर्याएका छन् ।

ओलीले जनयुद्धलाई विश्राम दिने विकल्प खोज्ने क्रममा प्रचवण्डले पूर्वराजासँग ५ बुँदे सम्झौता गरेको दावी गरे । विराटनगरमा पत्रकारसँगे कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजासँग वार्तामा बसेका प्रचण्ड निकट व्यक्तिहरूले नै यो कुराको खुलासा गरेको बताए। तर, प्रचण्ड निकट ब्यक्तिको नाम भने उनले लिएनन् ।

ओलीको उक्त आरोपपछि प्रचण्डले सम्झौता भएको भए प्रमाणित गर्न र नभए सार्वजनिक रुपमा माफी माग्न चुनौती दिएका थिए ।  प्रचण्डको चुनौतीका विषयमा ओलीले भने–‘प्रचण्डजीले चुनौती नै दिने हो भने उहाँहरूलाई दिनुपर्छ, जसले सम्झौताबारे बोलिरहेका छन्। मलाई चुनौती दिनुको कुनै अर्थ छैन ।’

सम्झौताका विषयमा आफुले थप बोलिरहनु पनि आवश्यक नभएको उनले बताए । ‘उहाँ (प्रचण्ड) कै मान्छेहरूले बोल्दै हिंडिरहेका छन्। वार्तामा बसेकाले नै भनेपछि विस्तारै लिखित प्रमाण पनि निस्केला’– उनले भने।

प्रचण्डले २०६० मंसिर १८ गते राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झौता गरेको आरोप ओलीले यसअघि लगाएका थिए । यो सम्झौता बारेमा माओवादीकी पूर्व नेतृ हिसिला यमीको पुस्तकमा पनि उल्लेख गरिएको छ । 
 

विशेष