जलविद्युत आयोजनामा पाईप पड्किएर दुई इन्जिनियरको मृत्यु

सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा पाईप पड्किएर दुई जना इन्जिनियरको मृत्यु भएको छ।
८६ मेगावाटको आयोजनामा आइतबार दिउँसो परीक्षणका क्रममा पेनस्टक पाइप पड्किएर दुर्घटना भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको हो ।
घटनामा आयोजनामा कार्यरत दुई जनाको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।
घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । पाइप पड्किएर बेहोस भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएको थिएन । उनीहरुलाई उपचारका लागि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, अस्पतालले मृत घोषित गरेको थियो ।
घटनामा घाइते भएका एक इन्जिनियरको काठमाडौंमा उपचार भइरहेको छ।