News विदेश

प्रधानमन्त्रीको भारत भ्रमणः पुष २५ गते प्रधानमन्त्री मोदिसँग भेट

प्रधानमन्त्रीको भारत भ्रमणः पुष २५ गते प्रधानमन्त्री मोदिसँग भेट

प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमणको तयारी सुरु भएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणका सम्भावित एजेन्डाबारे आइतबार अर्थ, ऊर्जा र गृह लगायत विभिन्न मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेको छ।

प्रधानमन्त्री देउवा आगामी पुस २५ गते नयाँदिल्ली जाने गरी कार्यक्रम बनाइएको परराष्ट्र सचिव भरतराज पौड्यालले बताए। प्रधानमन्त्री देउवाको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ।

भ्रमण टोलीमा २० देखि २५ जना सहभागी हुनेछन्। भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित बढिरहेकाले त्यहाँको अवस्था हेरेर मात्रै भ्रमण निश्चित गरिने परराष्ट्र अधिकारीहरुले बताए। 

प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले पुस २५ गते प्रधानमन्त्री भारत जाने निश्चित भइसकेको बताए। उनका अनुसार प्रधानमन्त्रीले पुस २५ गते नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता र राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गर्नेछन्।

एक दिने दिल्ली बसाइपछि देउवा पुस २६ गते प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरात पुग्नेछन्। 
त्यहाँ दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुने छन् । ग्लोबल समिटको मोदीले उद्घाटन गर्नेछन्। 

मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा उक्त समिटको अवधारणा अघि सारिएको थियो। हरेक दुई वर्षमा यो समिट हुँदै आएको छ। समिटमा विश्वका आर्थिक क्षेत्रका प्रभावशाली व्यक्ति, लगानीकर्ता र राजनीतिक व्यक्तित्व गरी १३५ देशका ४० हजार पाहुना सहभागी हुनेछन्।  

देउवा प्रधानमन्त्री भएयता पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्। पाँचौ पटक प्रधानमन्त्री वनेपछि देउवाले पहिलो विदेश भ्रमणमा बेलायतको स्कटल्याण्ड गएका थिए। 

शेरबहादुर देउवा नरेन्द्र मोदी

विशेष