News

ललिता निवास प्रकरण: योजनाकार पक्राउ, दिप वस्न्यात फरार

ललिता निवास प्रकरण: योजनाकार पक्राउ, दिप वस्न्यात फरार

ललिता निवास जग्गा प्रकरणका योजनाकार रामकुमार सुवेदीका दम्पत्ति पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुवेदीलाई पक्राउ गरेलगत्तै बस्यात सम्पर्कविहीन भएका हुन् । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउपुर्जी जारी गरेको छ।

सिआईवीले बोलाएर बयान लिने तयारी गरिरहेका वेला वस्न्यात सम्पर्कविहीन भएका हुन । स्वास्थ्य उपचारको बाहनामा वस्न्यात भारततर्फ लागेको सीआईबीले जनाएको छ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको क्षेत्राधिकारमा पर्ने मोही व्यवस्थापनसम्बन्धी प्रस्ताव आफैंले मन्त्रिपरिषदमा लगेको आरोप छ ।

उनले तयार पारेको मन्त्रिपरिषदमा लैजाने प्रस्ताव सदर गरेपछि ललिता निवास प्रकरणमा तत्कालिन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारमाथि समेत भ्रष्टाचार मुद्दा लागेको छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातसहित ११० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बस्न्यातमाथि ९ करोड ६५ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा अनियमितता गरेको आरोप छ । बस्न्यात सचिव हुँदा ललिता निवासको सार्वजनिक, पर्ती तथा राजकुलोको जग्गा नक्कली मोहीलाई वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप छ ।

०७२ साल चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका बस्न्यात २०७४ साल जेठ ८ अख्तियारको प्रमुख आयुक्त बनेका थिए । उनले २०७४ साल माघ २८ गते अवकाश पाएका थिए । ब्यूरोले केही ‘लो प्रोफाइल’ कर्मचारीहरुको बयान लिएपछि अन्तिममा उच्चपदस्थ अधिकारीहरुको बयान लिने तयारी गरेको थियो । बयान शुरु हुनुअघि नै बस्न्यात भारत गएका हुन् ।

विशेष