News

एमालेको संरक्षणमा सहकारीको करोडौं हिनामिना गर्ने इच्चाराजसहित ४२ जना विरुद्ध ठगी मुद्दा दर्ता

एमालेको संरक्षणमा सहकारीको करोडौं हिनामिना गर्ने इच्चाराजसहित ४२ जना विरुद्ध ठगी मुद्दा दर्ता

नेकपा एमालेका नेताहरुको आडमा सिभिल सहकारीको पैसामा परेड खेल्ने इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मको सवैभन्दा ठूलो ठगी मुद्दा दर्ता भएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार जिल्ला अदालत काठमाडौंमा पूर्वसांसद समेत रहेका तामाङ्गसहित ४२ जनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो। ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगोदाबीसहित मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। यो मुद्दा अहिलेसम्मकै धेरै पीडित भएको र ठूलो रकमको मुद्दा रहेको कार्यालयले जनाएको छ।  

उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए। ठगीको आरोप लागेकामध्ये सिभिल सहकारीको सञ्चालक समितिका सदस्य गोपाल बहादुर श्रेष्ठको दुई वर्षपहिले नै मृत्यु भएको थियो। यस मुद्दामा १२ जना पक्राउ परेका छन् भने २९ जना अझै फरार रहेको अभियोजन–पत्रमा उल्लेख छ।

सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ। बाँकी २९ जना फरार छन्। 

सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचत आफनो लगानीका कम्पनी मार्फत आफुखुशी उपयोग गरेर ठगी गरेको घटनामा तामाङ प्रमुख योजनाकार रहेको उजुरी परेपछि उनी पक्राउ परेका थिए । इच्छाराजको देखिने व्यवसाय भनेको हाउजिङ हो। उनले सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल इस्टेट प्रालिको नाममा घर–जग्गा कारोबार गर्दै आएका थिए। घरजग्गा कारोवारमा उनको अर्को आयश्रोत देखिएको छैन। लगानीको मुख्य स्रोत भनेको सहकारीको वचत नै हो।

बढी ब्याजको प्रलोभनमा पारेर सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीमा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाएर वचतको ९० प्रतिशतसम्म उनले आफ्नो लगानीका कम्पनीमा प्रयोग गरेको वताईन्छ।

रेकर्ड अनुसार तामाङ्गको समुहले सहकारीको वचतमध्ये ७ अर्ब बढी निक्षेप दुरुपयोग गरेको देखिएको प्रहरीले जनाएको थियो । तामाङले सहकारीबाट अनधिकृत रुपमा ऋण लिएर अन्धाधुन्ध घरजग्गामा लगानी गरे। सहकारीको आर्थिक वर्ष ०७४÷७५ को लेखापरीक्षण प्रतिवेदनमा सहकारीबाट आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको थियो। त्यसमा तामाङको रियल स्टेट व्यवसायमा मात्र ९० प्रतिशत कर्जा लगानी भएको थियो।

सहकारीका वचतकर्ताको रकम तामाङले सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल इस्टेट प्रालिमा लगानी भएको थियो। घर–जग्गा कारोबारमा मन्दी आएसँगै सहकारीको रकम चलाएर फाइदा उठाउने तामाङको योजना असफल भएपछि उनी डुब्दै गएका थिए ।

ठगी प्रकरणको पोल खुलेपछि तामाङले सरकारी निकायबाट हुनसक्ने कारबाहीबाट जोगिन राजनीतिक संरक्षण खोजे। जस अन्तर्गत उनी नेकपा एमालेबाट समानुपातिक सांसद भए। सांसद भएर कानुन बनाउने ठाउँमा पुगेपछि उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन आफू अनुकुल बनाउन चलखेल गरेका थिए।
यो पनि

सहकारीको पैसामा इच्छाराजको लुटः घरजग्गामा लगानी, वचतकर्ताको रकम ढुस

सिभिलका अध्यक्षसहित एक दर्जन पक्राउ, यस्तो छ गम्भिर आरोप

इच्छाराज तामाङ

विशेष