पुर्वराजा र रेखा थापासम्मको समर्थन लिङ्देनलाई, अप्ठ्यारोमा कमल थापा

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको पल्ला भारी हुँदै गएको छ।पूर्वराजा, अध्यक्ष पशुपतिशमशेर राणा, नेता धवलशम्शेर राणा तथा अभिनेतृ रेखा थापासम्मको समर्थन पाएपछि उनी जितको दावीसहित चुनावी प्रतिस्पर्धामा छन् ।
यसैविच नेता विक्रम पाण्डेले एकता महाधिवेशनमा लिङ्देनलाई सघाउने निर्णय गरेपछि राप्रपा महाधिवेशनमा नयाँ ट्वीस्ट आएको छ।
पाण्डे शनिवारको चुनावी प्रचार अभियानमा दिनभर लिङ्देनसँगै हिँडेका थिए । पाण्डेले वक्तव्य नै निकालेर लिङ्देनलाई समर्थन गरेको घोषणा गर्ने भएका छन्।
अध्यक्षका उम्मेदवार थापाले आफनो टिम सार्वजनिक गर्दा पाण्डेको नाम पनि समावेश गरेका थिए । उनको नाम वरिष्ठ उपाध्यक्षका थियो। तर, अहिले आएर उनी लिङ्देन पक्षमा खुलेपछि थापा कमजोर हुँदै गएको विश्लेषण हुन थालेको छ।
यसअघि अध्यक्ष पशुपतिशमशेर राणा र धवलशम्शेर राणाले पनि लिङ्देनलाई समर्थन गरिसकेका छन् ।
लिङ्देन निकट नेताहरुका अनुसार यस पटक निर्मल निवास पनि यतैतिर सहयोग गर्ने पक्षमा देखिएको छ। बाटामा राजा र हिन्दुधर्मको बहस तथा आन्दोलन तातिरहेको अवस्थामा त्यसको नेतृत्व गर्न पनि पूर्वराजाले सहयोग गर्ने प्रतिवद्धता जनाएको दाबी निकट स्रोतको छ । यसका लागि चरणबद्ध संवाद भएको छ ।
थापा गृहमन्त्री हुँदा राजसंस्था गयो, तर तिनै थापा राजाको नाम बेचेर शक्तिशाली वन्न खोजेकाले निर्मल निवास नाखुस भएको उनीहरुको वुझाई छ। उनिहरुका अनुसार थापा अवसरवादी नेताको रुपमा चिनिन थालेका छन् ।
यसैगरी, अभिनेत्री रेखा थापाले पनि लिङ्देनलाई साथ दिएकी छिन् । लिङ्देनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य समेत रहेकी अभिनेत्री थापा उपस्थित भएकी थिईन। रेखाले सबै पार्टीमा युवा पुस्ताको नेतृत्व आउनुपर्ने भएकाले आफूले लिङ्देनलाई साथ दिएको बताएकी छन् ।
रेखा २०७३ सालमा अध्यक्ष कमल थापाको प्रशंसा गर्दै राप्रपामा प्रवेश गरेकी थिइन् । राप्रपामा प्रवेश गर्नुअघि उनी नेकपा माओवादी केन्द्र निकट मानिन्थिन् । तत्कालीन नेकपा माओवादीको एक कार्यक्रममा अध्यक्ष प्रचण्डसँग सिंहदरबार अगाडि नाचेपछि रेखा राजनीतिक वृत्तमा पनि चर्चामा आएकी थिइन् । अहिले आफनो साथ लिङ्देनलाई रहेको उनको भनाई छ।
नेता लिङ्देन पार्टीमा अध्यक्ष कमल थापा निकट नेताका रुपमा चिनिन्थे । पार्टीको कार्यदिशामा मतभेद भएर कमल थापाले राप्रपा नेपाल गठन गर्दा उनले थापालाई साथ दिएका थिए । २०७४ सालको प्रतिनिधिसभासभा निर्वाचनमा उनी राप्रपाबाट निर्वाचित एक्लो सांसद हुन् ।
अध्यक्ष पदका लागि भोली निर्वाचन हुँदैछ।
यो पनि
कमल थापा कति राष्ट्रवादी, उनैले स्वीकारे आफुले गरेको राष्ट्रघात!