News

कमल थापा र रेखाको हारले सिकाएको पाठः इमानको राजनीति, इमानदार नेतृत्व

कमल थापा र रेखाको हारले सिकाएको पाठः इमानको राजनीति, इमानदार नेतृत्व

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनले लामो समयदेखि पार्टीको नेतृत्व गर्दै आएका कमल थापालाई हराएर राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गर्यो । राप्रपाको अधिवेशनले यति मात्रै गरेको छैन, राजनीतिक दलका नेताहरुलाई पाठ पनि सिकाएको छ।

कमल थापा हिन्दु राष्ट्र र राजसंस्थाको नारा वोकेपनि उनले त्यस अनुसारको राजनीतिक चरित्र देखाउन सकेनन् । गणतान्त्रिक संविधानलाई स्विकार्दै उनी पटक–पटक मन्त्री भए । यति मात्र होईन, उनले पुर्वराजालाई पनि धोका दिएको आरोप लाग्ने गरेको छ। पदका लागि उनले राजनीतिक आदर्श भुलेर स्वार्थको पछाडि लागेको आरोप लागिरहेका वेला उनले अध्यक्षमा चुनाव हारे ।अर्कोतर्फ माओवादीले अनेक धम्की र निर्घात कुटपिट गर्दा र घरमा वम विस्फोट गराउँदा समेत हिन्दु राष्ट्र र राजसंस्थाको नारा वोकेर हिडिरहेका लिङ्देन विजयी भए ।

यतिमात्रै होईन,, अभिनय क्षेत्रमा चर्चित अभिनेतृ रेखा थापा महामन्त्रीमा पराजित भईन भने सामाजिक क्षेत्रमा काम गरिरहेकी कुन्ती पोख्रेल सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भईन। यसले के देखाउँछ भने, जनताले निष्ठा र आदर्शको राजनीति तथा आदर्शवान नेतृत्व चाहेका छन् । जाली, फटाहा कुरा गर्ने, झुठा कुरा गरेर नेतृत्व र पद हत्याउने तर ब्यक्तिगत स्वार्थभन्दा माथि उठन नसक्ने नेतृत्व पाखा लाग्छ भन्ने उदाहरण हो– राप्रपा महाधिवेशन ।

आजभन्दा १२ वर्षअघि तत्कालीन नेकपा माओवादीले आयोजना गरेको विरोध कार्यक्रमका क्रममा सिंहदरबारअगाडि अध्यक्ष प्रचण्डसँग नाचेपछि रेखा राजनीतिक वृत्तमा पनि चर्चामा आइन् । प्रचण्ड र रेखाको डान्स त्यसबेला खुबै चर्चामा रह्यो ।

त्यसपछि माओवादीले दोस्रो संविधानसभा निर्वाचनमा रेखालाई पर्साबाट उठाउने निर्णय ग-यो । तर, मतदाता नामावलीमा नाम नभएपछि रेखा उम्मेदवार बन्न पाइनन् । त्यसपछि रेखा फेरि चलचित्रमा नै बढी सक्रिय हुन थालिन् । २०७३ सालमा रेखाले लिएको एक निर्णयले राजनीतिमा एक तरंग ल्यायो । आफूले माओवादी पार्टीको सदस्यता नलिएको दाबी गर्दै रेखा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरिन् । रेखालाई फूलमाला लगाएर भव्य कार्यक्रमका बीच कमल थापाले पार्टीमा स्वागत गरे ।

त्यस कार्यक्रममा रेखाले कमल थापा जस्तो नेताको आवश्यकता देशका लागि रहेको तर्क गरिन् । रेखाले देश र राप्रपाको झण्डा ओढेर मर्न चाहेको अभिव्यक्ति समेत दिइन् ।

राप्रपामा प्रवेश गरेपनि उनको राजनीतिक सक्रियता भने खासै देखिएन । तर, राप्रपाको महाधिवेशन नजिकिँदै जाँदा भने रेखा फेरि सक्रिय हुन थालिन् । राप्रपा महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षमा उनी खुलिन् र उनले लिङ्देनकै प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी समेत दिइन् ।

तर शनिबार सम्पन्न महाधिवेशनबाट कमल थापालाई हराउँदै लिङ्देन अध्यक्ष बन्न सफल भए भने रेखा महामन्त्रीमा पराजित भइन् । उनी महामन्त्रीकी अर्की उम्मेदवार कुन्ती शाहीसँग भारी मतान्तरले पराजित भएकी हुन् । कुन्ती शाही लामो समयदेखि राजनीतिमा सक्रिय छिन। राप्रपा राजनीतिबाटै उनी सभासद्, सांसद हुँदै राज्यमन्त्री बनिन् । पार्टीमा पनि राम्रै भूमिकाहरू पाइन् । प्रमुख सचेत भएर काम गरिन् । उनी जारी एकता महाधिवेशनमा कमल थापाको प्यानलबाट राप्रपा महिला महामन्त्रीमा लडिन र जितिन् ।

यसैगरी, राप्रापाको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर निर्वाचित कुन्ती पोख्रेल भने सामाजिक सञ्जाल र सामाजिक काममा सकृय छिन्। उनी राप्रपा महाधिवेशनमा सर्वाधिक २०८० मत प्राप्त गरेर केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् ।

कुन्तीले आफ्नो उम्मेदवारीबारे तडकभडकसहितको प्रचार–प्रसार पनि गरेकी थिइनन् । तर सर्वाधिक मत प्राप्त गरेर राप्रपाको केन्द्रीय नेतृत्वमा पुगिन् । काठमाडौंकी कुन्ती सामाजिक काममा सक्रिय युवा महिला हुन् । ३५ वर्षीया कुन्तीले राजनीतिक कार्यथलो काठमाडौं क्षेत्र नम्बर ५ लाई बनाएकी छन् ।

पोख्रेल राप्रपाको राजनीतिमा विगत १० वर्षदेखि सक्रिय छिन् । महिला हिंसाविरुद्ध आन्दोलनको नेतृत्व गर्दै तारामण्डल महिला सशक्तिकरण अभियान सञ्चालन गर्ने उनी चिरपरिचित समाजसेवी हुन् ।

उनी राजनीतिभन्दा पनि आम नागरिकका समस्यामा केन्द्रित हुने महिला नेतृ हुन् । उनी राप्रपा महाधिवेशनमा कमल थापाको प्यानलबाट महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा थिइन् । कुन्तीले कमल थापाको पराजयपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाइ दिएकी छन् । 

राजेन्द्र लिङ्देन कमल थापा

विशेष