लिङेदेनले जितेकोमा भन्दा कमल थापा हारेकोमा रेखालाई खुसी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा पराजित भएकी रेखा थापाले वर्षौँदेखि एउटै व्यक्तिले पद ओगटेर छोड्न नचाहेको परम्परा अन्त्य भएको प्रतिक्रिया दिएकी छिन् । आफु हारेपनि यो नतिजाले आफु खुसी भएको उनको भनाई छ।
‘यो हामी सबैका लागि खुसीको कुरा हो,’ थापाले भनिन्,‘आइएम सो ह्यापी।’ उनले महामन्त्रीमा विजयी कुन्ती शाहीलाई बधाई र शुभकामना दिँदै पार्टीमा राम्रोसँग काम गर्नु हुन्छ भन्ने अपेक्षा लिएको बताइन। आफू पार्टीमा आबद्ध भएको चार वर्ष मात्रै भएको भन्दै पार्टी भित्रको योगदानको हिसाबले कुन्तीले जित्नु स्वाभाविक भएको उल्लेख गरिन्।
उनले धाँधलीको प्रयास भएपनि मतदाताले सहि नेतृत्व चयन गरेको प्रतिक्रिया दिईन। ‘जतिसुकै धाँधलीको प्रयास गरे पनि, धेरै प्रकारको बाधा आउन खोजे पनि मलाई एकदमै खुसी लागेको छ’ उनले भनिन–‘यो सबै भन्दा महत्वपूर्ण र ठुलो विजय हो।’
उनी प्रतिस्पर्धी शाहीसँग ३६८ मत कम ल्याएर पराजित भएकी हुन्। शाहीले २ हजार ८ मत पाउँदा थापाले १ हजार ६४० मत ल्याइन।