भद्रपुर–धनकुटा माईक्रो चलाएका लिङ्देन राप्रपाको चालक !

शासन ब्यवस्थामा असन्तुष्टि जनाउँदै क्रान्ति गर्न जंगल पसेको तत्कालिन माओवादीको विद्रोह उत्कर्षमा थियो। कयौं मान्छे मारिए, कयौैं ब्यक्ति अपाङ्ग र अंगभंग भए । भौतिक संरचना ध्वस्त भए। तर, केही मानिस भने त्यस वेला पनि राजा र राजसंस्थाको पक्षमा वकालत गरिरहेका थिए ।
सोही क्रममा राजाको पक्षमा लागेका झापाको गोल्धाप स्थित एक ब्यक्तिको घरमा माओवादीले वम विस्फोट गरायो। त्यो, घर थियो– अहिले राप्रपाको अध्यक्ष निर्वाचित राजेन्द्र लिङ्देनको ।
त्यसपछि लिङ्देनको परिवार झापाकै बिर्तामोडमा बसोबास गर्न पुग्यो। घरमा बम विस्फोट र आगाजजी गर्दा पनि चित्त नवुझेर माओवादीले कालोमोसो दलेर कुटपिट समेत गर्यो । मरणासन्न हुनेगरी कुटेर ‘अब मर्यो’ भन्दै झाडीमा फालिएका तिनै लिङ्देन अहिले राप्रपाको अध्यक्ष निर्वाचित भएका छन्।
लिङ्देनले २०० मतले आफ्ना प्रतिस्पर्धी तथा लामो समय अध्यक्ष रहँदै आएका कमल थापालाई पराजित गरेका हुन् । मंसिर १५ गतेदेखि काठमाडौंमा शुरू भएको महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानको परिणाम अनुसार लिङ्देनले १,८१७ मत प्राप्त गरेका छन् भने थापाले १,६१७ मत प्राप्त गरेका छन् ।
कुल मतदाता करिब ३८ सय रहेका थिए । त्यसमध्ये ४३१ मत बदर भएको थियो।
वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनले २०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति सुरुवात गरेका हुन्।
विद्यार्थी राजनीतिसँगै पढाइलाई निरन्तरता दिएका लिङ्देनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
लिङ्देन राप्रपाको स्थापनाकालदेखि नै सदस्य बने। २०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष बने। स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष पनि भए। लिङ्देन वि.सं. २०६०/०६१ मा राजाको प्रत्यक्ष शासन कालमा जिविस झापाको सभापतिसमेत बने।
उनले धेरै समय आफ्नै गाडी हाँक्दै यात्रु पनि बोकेका छन्। पैतृक सम्पत्तिमा पहुँच नभएका बेला उनले केही वर्ष धनकुटा-भद्रपुर गर्ने आफ्नै माइक्रो बस चलाएको पारिवारिक स्रोत बताउँछ। तर सिद्धान्तमा अविचलित लिङ्देन राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दामा अडिग रहिरहे।
०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनले पराजय व्यहोरे। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै उनी झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भए।
कमल थापा राजेन्द्र लिङ्देन