News

नाङ्ले पसलवाट गुजारा गर्दैछन जनवादी गायक जीवन शर्मा ?

नाङ्ले पसलवाट गुजारा गर्दैछन जनवादी गायक जीवन शर्मा ?

भिम उपाध्याय । सामाजिक सञ्जाल प्रयोगकर्ता जो सुकैले पनि यो नाम सुनेको हुनुपर्छ। नेपाल सरकारको उच्च पद (सचिव) मा रही रिटायर भएका उपाध्यायले ईन्जिनेरिङ्ग पढेका छन् । 

कुनै राजनितिक दल, समूह, संगठन र संस्थामा आबद्ध नभएका उपाध्याय एकल आन्दोलनकारी हुन् भन्दा फरक नपर्ला । उपाध्याय फेसबुक चलाउँछन् । फोटो पोष्ट गर्छन् र पोष्ट गरिएको फोटो के हो भन्ने बारेमा क्याप्सन लेख्छन् । उनले गरेको पोष्ट मिनेटमै सयौको संख्यामा सेयर हुन्छ, लाईक कमेन्टको बर्षात हुन्छ ।

उपाध्यायले सोमवार पनि एउटा फोटो पोष्ट गरे । फोटोमा नाङ्लो र क्रेटमा मकै, खुर्सानी र कागती बेच्न राखिएको छ र त्यसको छेउमा मास्क लगाएर जनवादी गायक जिवन शर्मा वसेका छन् । अनि फोटोको क्याप्सनमा लेखिएको छ– ‘जनवादी चर्चित गायक जीवन शर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन्। मेरो सादर सलाम छ !’

उनको यो फोटो अहिलेसम्म ४१३ जनाले शेयर गरेका छन् । १ हजारभन्दा वढि कमेन्ट भएको छ भने ११ हजारभन्दा वढि लाईक छ। कतिपयले गायक शर्माको यो अवस्था देखेर चिन्ता ब्यक्ति गरेका छन् भने सरकार र राजनीतिक दलप्रति आक्रोश पोखिएको छ। अनन्तबहादुर गुरुङ नामका फेसवुक प्रयोगकर्ताले लेखेका छन्– ‘दलहरुले नेपाल राष्ट्रलाई बर्बाद पारेको पुष्टी हुन्छ । जनवादी गीत गाउँदै कम्युनिष्टहरुलाई सत्तामा लान ठुलो भूमिका निभाएका जनवादी गायक कलाकारको आर्थिक अवस्था राम्रो नहुनु दुःखको कुरा हो । सबैको हालत यस्तै भएको छ दलका नेताहरु र तिनका राजनीतिक कार्यकर्ताहरु मात्रै मस्तीमा छन ।’

बाग्लुङको राङखानीमा जन्मेका जीवन शर्मा ०३२ सालदेखि संगीत यात्रामा लागेका हुन । तर, गीत रेकर्ड भने प्रजातन्त्र पुनःस्थापनापछि मात्र भएको हो ।

सिमली छायामा बसी, भरिया लामो सास फेरेको
उमेर भइसक्यो अस्सी, झन् ठूला दुःखले घेरेको


जनवादी गायक शर्माले ८० वर्षे वृद्धको वेदना समेट्दै ०४१ सालतिर गाएको यो गीत अझै उस्तै मर्मस्पर्सी छ। यो गीत गाउँदा उनी २४ वर्षे युवक थिए । अहिले उमेरको खुड्किलोमा उनी ६० को दशकमा छन् । तर, गीतको मर्म समाजमा उस्तै छ।

०४१ सालदेखि भूमिगत भएर गीत गाउँदै हिँडेका शर्माका गीतहरू ०४७ सालमा रेकर्ड भएर आउँदा निकै लोकप्रिय भए । आम मान्छेको अधिकारको कुरा गर्ने शर्मा सादा जीवन बाँचिरहेछन् । वर्गसंघर्ष र साझा सपनाको धून सोच्दै सडक र फुटपाथमा फित्ते चप्पल पड्काउँदै हिँडिरहेका भेटिन्छन् उनी ।

उनले चाहेको भए धन कमाउने सम्भावना पनि थिए, तर, छँदाखाँदाको स्कूले हेडमास्टरको जागिर छोडेर उनी संगीततिर लागे। पैतृक सम्पत्ति सम्हालेर बस्दा पनि उनको जिवन सहज रुपमा वित्ने थियो, उनका पिता पञ्चायती व्यवस्थामा बाग्लुङका प्रधानपञ्च र जिम्मावाल थिए ।

तर, उनी भने हेपिएका र पिस्लिएका वर्गका लागि गीत गाउँन थाले। यसरी देश र जनताको अधिकार र रक्षाका लागि गीत गाएर हिड्ने शर्माले दुःख पाएको देख्दा कस्को मन नरोला र ? सायद अनन्तवहादुर गुरुङको कमेन्ट पनि त्यसैको प्रतिक्रिया हुनुपर्छ ।

तर, तस्बिरमा देखिने दृश्यको वास्तविकता भने फरक छ। खासमा उक्त पसल जीवन शर्माको होइन। उक्त पसल मैतीदेवीस्थित एक महिलाको हो। ती महिलाले सडकछेउमा पसल राखेकी थिइन्। दुई महिनाअघि सडकमा हिँड्दै गर्दा जीवन शर्मा त्यही पसलनजिक पुगे। उनले रमाइलो मान्दै केहीबेर पसलअगाडि बसेका थिए। त्यतिवेला कसैले उनको  तस्बिर खिचेको थियो। सो तस्बिर अहिले भाइरल भएको हो।
 
गायक शर्माले पनि त्यो पसल आफनो नभएको वताएका छन् । हिँड्दै जाँदा रहर गर्दै पसलमा बसेको र सडकमा उभिएकाहरूले फोटो खिचेको वताएका उनले फोटो भाईरल भएकोमा आश्चर्य ब्यक्त गरेका छन् ।

तर, पूर्वसचिव उपाध्यायले भने अहिलेसम्म आफनो कमजोरी स्विकारेका छैनन् । उनको फेसवुकमा क्षमायाचना पनि गरिएको छैन। वरु उल्टै फोटोलाई सत्य झै प्रस्तुत गर्न उनले अर्को स्ट्याटस लेखेका छन् । ‘जीवन शर्माको भाइरल फोटोमा भएको पसल उनको हो वा हैन, अहिले त्यो विषय भन्दा महत्वपूर्ण जनवादी सच्चा गायकको जीवन यस्तो छ कि छैन त्यो बढी हो! त्यो फोटोले बलिदानबाट सिर्जित ठूलो पीडा, यथार्थ जीवन र मुलुकमा सच्चा त्यागी नागरिकको बेहालको सटिक ब्याख्या गरिरहेको छ’ उनले लेखेका छन्–‘क्रान्तिका दौतरीहरूमध्ये कोही महल, दरबार लाखौँको जुत्ता र पहिरनमा, करोडौँको गाडीमा, लाखौंका महंगा फर्निस्ड लिभिंग रूममा सजिएका छन्, हेलिकप्टर नभइ कतै सवारी नै हुदैन भने उनैमध्ये बढी त्यागी कोही भुईमा लखतरान पापी पेटका सवालहरू गन्दैछन्।’

हुन त उपाध्यायको स्ट्याटस कतिपय अवस्थामा विवादमा परिनै रहेका छन् । तर, यस पटक भने उनले नागरिकका भावनासँग खेलवाड गरेको फेसवुक प्रयोगकर्ताहरु वताउँछन् । उनको यस्तै स्ट्याटसका कारण ०७७ वैशाखको दोस्रो साता प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनिमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग लगाएको थियो । उपाध्याय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भद्दा टिप्पणी गरेको अभियोगमा पक्राउ परेका थिए । 
 

भिम उपाध्याय जिवन शर्मा

विशेष