News

शम्भु थापाले ओलीलाई भने– सवै दलले चोलेन्द्रलाई देउता मान भन्दैमा हामी स्विकार्दैनौं

शम्भु थापाले ओलीलाई भने– सवै दलले चोलेन्द्रलाई देउता मान भन्दैमा हामी स्विकार्दैनौं

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरालाई देउता झैं मान भनेर सबै राजनीतिक दलले भने पनि आफुहरुले नस्विकार्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुनाएका छन् ।

मंगलबार नेपाल बार एशोसिएसनको टोली प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै ओली निवास बालकोट पुगेका वेला उनले यसरी सुनाएका हुन । टोलीमै रहेका थापाले नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउनुपर्दैन भन्ने निश्कर्षमा पुगेको हो ? भन्दै प्रश्न पनि गरे ।

आफूहरुले भन्दा प्रधानन्यायाधीश जबरालाई ओलीले बढी चिनेको भन्दै उनले महाभियोग लगाउन हुँदैन भन्ने निश्कर्षमा पुगेको हो भनी प्रश्न गरे। ‘वर्तमान प्रधानन्यायाधीश होइन त्यस्ता छैनन् भन्ने लाग्छ कि, तपाईंसँग बढी सामिप्यता भएको नाताले। हामीसँग त चियागफमा पनि भेट हुँदैन’ भन्दै उनले ओलीलाई ब्यंग्य पनि गरे।

पर्याप्त आधार हुँदा पनि राजनीतिक दलहरु प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आनाकानी गरेकोमा उनको असन्तुष्टि थियो । 

कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोगबाट हटाउन ओलीको सहयोग मागेका छन् । न्यायालयमा देखिएको समस्या न्यायालयबाटै समाधान नहुने भन्दै दलहरुको सहयोग आवश्यक परेको उनीहरुले बताए।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, न्याय प्रशासनको नेतृत्व गर्न नसकेको र स्वच्छ न्याय पनि दिन नसकेकाले उनको बहिर्गमन आवश्यक रहेको बताए ।

अध्यक्ष श्रेष्ठले दलहरुमा समस्या देखिएमा निर्वाचनबाट नयाँ नेतृत्व आउन सक्ने तर न्यायालय बर्बाद भयो भने सुधार्ने अर्को कुनै बाटो नभएको भन्दै जबरालाई महाभियोग लगाउन सहयोग गर्न आग्रह गरे ।

शम्भु थापा चोलेन्द्रशमशेर जबरा केपी शर्मा ओली

विशेष