News

५ विषयमा मास्टर्स गरेका अब्बल ब्यवसायी नाडाको अध्यक्ष वन्ने प्रतिस्पर्धामा

५ विषयमा मास्टर्स गरेका अब्बल ब्यवसायी नाडाको अध्यक्ष वन्ने प्रतिस्पर्धामा

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को साधारणसभामा नयाँ नेतृत्व चयनको गृहकार्य चलिरहेको छ। नयाँ नेतृत्व चयन हुने भएकैले व्यवसायीमाँझ चुनावी सरगर्मी बढेको छ । विगतका अधिकांश नेतृत्व सर्वसम्मत चयन हुँदै आइरहेको भएपनि पछिल्लो केही वर्षयता यो निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ ।

नेतृत्वमा यसपाली चौधरी ग्रुपका करण चौधरी र पोखराबाट व्यवसाय शुरुवात गरेका धुब्र थापाबीच प्रतिस्पर्धा छ। सीजी मोटोकर्प तथा सीजी होल्डिंङ्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षसमेत हुन । उनी सम्भवतः अध्यक्षमा अहिलेसम्मकै कान्छा उमेद्वार हुन । 

४० वर्षे कलकलाउँदो उमेरमै अटो व्यवसायमा १६ वर्षको अनुभव वटुलेका चौधरीले ५ विषयमा मास्टर्स गरेका छन् । यूनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डबाट स्नातक अध्ययन गरेपछि हार्वार्ड युनिभर्सिटी, युनिभर्सिर्टी अफ पेन्सल्भेनिया, युनिभर्सिटी अफ इलिनोय र वाल्टन स्कुलबाट उनले मास्टर्स गरेका छन् ।

चौधरी घरानाका प्रतिनिधि भएर पनि मेकानिकबाट करियर सुरु गरेका चौधरी छोटो समयमै सफलताको शिखरमा छन् । लिगेसीलाई अझ माथि लैजान र आफ्नो पहिचान उँचो बनाउन करण पुरै शक्ति खर्चिरहेका छन् ।

आसन्न साधारणसभा मार्फत् हुने नेतृत्व चयनमा अध्यक्ष पदको बलिया प्रत्यासी हुन् उनी। काममा अब्वल तथा नेतृत्वमा भरोसा योग्य चौधरी भन्छन्–‘म मेकानिक्सबाट अटो क्षेत्रमा प्रवेश गरेको हुँ । कुन नटबोल्टु कसरी खोल्ने ? कसरी फिट गर्ने ? इन्जिन एसेम्बल गर्दा पिस्टन कसरी फिट हुन्छ ? भन्ने विषयमा जोकोहीसँग म जुहारी खेल्न सक्छु ।’

उनी नेतृत्व उमेरले होइन, इच्छाशक्ति र क्षमताले तय गर्ने वताउँछन् । अटो क्षेत्रमा बटुलेको अनुभव र विभिन्न विश्वविद्यायहरुबाट प्राप्त गरेको शिक्षाले उनलाई दक्ष, परिपक्क र व्यवस्थापकीय क्षमता अब्बल वनाएको छ। आफ्नो कुशल नेतृत्वमार्फत् सुजुकीलाई मार्केट शेयरको हिसाबमा नेपालको नम्बर वान ब्रान्ड बनाउन सक्षम भएका छन्, करण ।

मेकानिक र व्यावसायिक आइडियाबारे उनी कन्फिडेन्सका साथ जवाफ दिन्छन् । अटो मोवाईल्सका क्षेत्रमा करण चौधरी अहिले यति अग्लो खम्बा हो, जसलाई उछिन्न जो–कोहीलाई गाह्रो छ ।

नाडाको निर्वाचन नजिकिँदै गर्दा उनिमाथि लाग्ने एउटा आरोप छ– चौधरीको उमेर पुगेकै छैन । तर, उनी आफूलाई युवा व्यवसायी भन्न लाज मान्छन््। किनकी उनी ब्यवसायमा प्रवेश गरेकै १६ वर्ष भइसक्यो । विदेशमा ३० वर्षका व्यक्ति प्रधानमन्त्री बनिरहँदा त्यति नै हाराहारी उमेरको मान्छे नाडाको अध्यक्ष बन्ने होडमा हुनु नौलो पक्कै होइन ।

नाडाको अघिल्लो कार्यकालमा उनले नेतृत्वलाई ठूलो साथ दिए । विद्युतीय सवारीमा कर घटाउन उनी सम्मिलित कार्यसमितिले गरेको मेहनत, खोप ल्याउन गरेको पहल, राहत प्याकेजका लागि लबिङ गर्नुमा उनको ठूलो योगदान छ ।

तर, निर्वाचन मुखैमा आईपुगेपछि करण माथि ‘चौधरी परिवारको व्यक्ति हुनु नै सक्षमता हो ?’ भन्ने प्रश्न उठेको छ । तर, उनी ‘म किन सक्षम छैन ?’ भन्ने प्रतिप्रश्न गर्छन् । तर, ‘आफ्नो गुणगान आफै गाउन’ नहुने तर्क गर्छन उनी।

उनले १६ वर्षे व्यवसायीक अनुभवमा हजारौं व्यक्तिसँग काम गरेका छन् । उनी आफू दोस्रो व्यक्तिबाट जस्तो व्यवहारको अपेक्षा गरिन्छ, आफूले पनि ऊसँग त्यस्तै व्यवहार गर्नुपर्छ भन्ने जान्दछन्। ‘जीवनमा कहिलेकाहीँ ठोस निर्णय लिनुपर्ने हुनसक्छ, त्यसका लागि नम्रता अनिवार्य सर्त हो’ उनी भन्छन्, ‘सबैलाई खुसी राख्न सकिन्न तर, सबैलाई सही हुने निर्णय नेतृत्वले लिनुपर्छ।’

करणले परिवारबाट सिकेको पनि यही हो, जसले उनलाई सक्षमको परिभाषाभन्दा माथि पु¥याएको छ । १६ वर्ष अगाडि ब्यवसायमा छिर्दा उनीसँग कम्पनीको निर्देशक वा कार्यकारी निर्देशक बन्ने अवसर थियो । तर, उनले मेकानिकबाट काम सुरु गरे ।

काम गरेर मात्र नहुँदो रहेछ भन्ने निष्कर्शसहित करण थप शैक्षिक योग्यता हासिल गर्नतर्फ लागे । मेकानिकबाट सिकेको व्यवहारिक पक्ष र सीपलाई अध्ययनमा सिकेका सैद्धान्तिक विषयसँग जोडे । चौधरी भन्छन्–‘मैले परेर सिकें, पढेर ज्ञान विस्तार गरें भन्नु जति खुसी केहीमा पनि हुँदैन रहेछ।’

नाडाको यस वर्षको नेतृत्व सक्षम ब्यक्तिको हातमा पुग्नु पर्ने उनी वताउँछन् । ‘नाडाको नेतृत्व सक्षम व्यक्तिको हातमा पुग्नुपर्ने छ । सक्षम टिमको आवश्यकता छ । म मलाई वा मेरो प्यानलका व्यक्तिलाई भोट गर्नुस् भन्दिनँ’ उनी भन्छन्–‘जो सक्षम छ उसलाई जिताउनुस् ।’

सक्षम टिम
अध्यक्षको प्रतिस्पर्धामा रहेका चौधरी आफुसँग सक्षम टिम रहेको दावी गर्छन। नाडामा सदस्य संख्या बढाउनु जरुरी थियो । अलिहे ९ सयबाट सदस्य संख्या ३ हजार २ सय पुगेको छ। जसले मोफसलका प्रतिनिधि पनि अटाउनु भएको छ। सानाभन्दा साना व्यवसायीको आवाज प्रतिनिधित्वि भएको छ ।

कार्यसमिति सदस्यको संख्या पनि १३ बाट १८ पुगेको उनी वताउँछन् । ‘व्यवसायीहरु २ प्यानलमा बाँडिए भन्ने आरोप लागेको छ। तर यो कुनै नौलो कुरा होईन’ उनी भन्छन्–‘एक हिसावले हेर्दा नाडा सानो संस्था हो । अर्कातर्फवाट हेर्दा ३ हजार २ सय सदस्य त्यति सानो पनि होइन । ति सदस्यका कुरा सरकारकहाँ पु¥याउन सबैको कोही न कोही प्रतिनिधि टिममा हुनु जरुरी छ। मैले सोही अनुसारको टिम वनाएको छु ।’

सवै क्षेत्रको प्रतिनिधित्व, सवैको साथ
आफनो टिममा सवै क्षेत्रका ब्यक्तिलाई समेटिएको उनी दावी गर्छन। ‘मेरो टिममा टायर उद्योग सञ्चालक, दुईपांग्रे, चारपांग्रे सवारीको एसेम्बल प्लान्ट खोल्ने उद्योगी छन् । म आफैं लुब्रिकेन्ट उत्पादक पनि हुँ’ चौधरी भन्छन्–‘मेरो टिममा ठूला व्यवसायी छन् तर धेरै भोट साना व्यवसायीको छ । यस्तोमा ठूलालाई सानाले भोट गर्छन् कि गर्दैनन् भन्ने संसय छ । तर, मेरो प्रष्ट जवाफ छ– एउटै टिममा, एउटै कम्पनीको काम गर्ने प्रतिवद्धता लिएर अघि बढेका छौं भने आफ्नो व्यावसायिक हितका लागि पनि आफ्नो सहयात्रीलाई भोट हाल्नुपर्ने हुन्छ ।’
मेरो टिममा टाटा, एक्साइड ब्याट्री लगायतको आधिकारिक वितरक सिप्रदी ट्रेडिङदेखि एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसम्मको साथ छ । सवै गर्दा आफनो टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ रहेको उनी वताउँछन् ।

‘मेरो टिम उद्योगीमुखी टिम हो । नेपालमा एसेम्बल प्लान्टदेखि, लुब्रिकेन्ट, ब्याट्रीको प्लान्ट स्थापना गरेका र गर्ने तयारीमा रहेकाहरुको साथ छ’ उनी थप्छन्–‘कम्पनीको नामै लिनुपर्दा सुजुकी, टाटा, महिन्द्रा, फियाट, जेसीबी, स्कोडा, जिप, रेनो, एमजी, यामाहा, हिरो, होण्डा, बजाज, एक्साइड लगायतको साथ मसँग छ ।’

चोधरीको टिममा हालका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानिया, हिरोका अभिक ज्योती, देवराज भण्डारी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश पुरी, निलमणी पाठक, बरदान बस्नेतलगायत छन् ।

यस्ता छन चुनावी एजेन्डा
चौधरीले पूर्वाधार विकासलाई आफनो पहिलो एजेन्डा वनाएका छन् । उनी भन्छन्–बाटो ठूलो र धेरै भए भने धेरै गाडी चल्न सक्छन् । धेरै पार्टस् बिक्री हुन्छ, धेरै टायर, ब्याट्री र लुब्रिकेन्ट बिक्री हुन्छ । पूर्वाधार विस्तार कसरी गर्न सकिन्छ ? सरकारसँग सहकार्य गर्नेछौं ।

तर, त्योभन्दा पहिला सरकारले सवारी व्यवसायप्रति हेर्ने नजर परिवर्तन गर्नु जरुरी रहेको उनको वुझाई छ । चौधरी भन्छन्– नाडासँग आवद्धलाई अनुत्पादक मान्ने गरिएको छ, जुन सवारी व्यवसाय मैत्री छैन ।’

कुल गार्हस्थ उत्पादन र राजस्वमा सबैभन्दा बढी योगदान गर्ने क्षेत्र नाडा हो । सवारी व्यापार निरुत्साहन गर्दा सरकारको ३५ प्रतिशत आयस्रोत घट्छ । यो कुरा सरकारलगायत सम्वन्धित सवै पक्षले वुझ्नु पर्ने उनी वताउँछन् । ‘डाउनपेमेन्ट, भन्सार विभागको सन्दर्भ मूल्यसूचीसम्म सबैले सवारी व्यवसायमा व्यवधान खडा गर्दै आएको छ । तसर्थ, सोच परिवर्तन गर्नु आवश्यक छ । र, मेरो कार्यकाल सवारी व्यवसायमैत्री सरोकारवाला निकाय बनाउनेमा केन्द्रित हुनेछ ।’

भावि नेतृत्व
हामीमाथि ८ वर्षपछिको अध्यक्षको तयारी आजैबाट गरिँदै छ भन्ने आरोप लाग्ने गरेको छ। तर, आजसम्म मेरो टिमसँग मैले निर्वाचन जिते कसले कुन पद लिने भन्ने बारे पनि छलफल गरेको छैन, ८ वर्षपछिको कुरो त टाढाको कुरा ।

सर्वसम्मति नभएको खण्डमा निर्वाचन जानुको विकल्प छैन । त्यो बेला सवारी व्यवसायीले सक्षम नेतृत्व छनोट गर्नुहुनेछ भन्ने मेरो आशा छ । सर्वसम्मतिको प्रयास अन्तिम समयसम्म पनि जारी रहने उनले वताए ।

सर्वसम्मतिको अर्थ एउटाले छाड्ने होइन, दुवैजना बराबर नेतृत्वमा रहने भन्ने हो । काम गर्ने टिम आवश्यक छ । एउटा अध्यक्ष ठूलो कुरा होइन । सबै पक्षका, सबै वर्गका, सबै क्षेत्रका, सबै भुगोलका प्रतिनिधि नाडा कार्यसमितिमा हुनुपर्छ ।

म्यानुफ्याक्चर हबका रुपमा नेपालको विकास र एसेम्बल उद्योग
भारत झैं नेपालमा म्यानुफ्याक्चर हबका रुपमा नेपाललाई विकास गर्नेबारे परिकल्पना गर्न मिल्दैन । सरकारले जेजती सहयोग गरेपनि निर्यात हब बन्न निर्यात रुट तथा यातायातका विकल्प हुनुपर्छ । बाटोको विकल्प नहुनुले ढुवानी खर्च निकै बढी हुन जान्छ ।

एसेम्बलिङ प्लान्ट निर्माण नेपालका लागि अति आवश्यक हो तर निर्यातका लागि होइन । यहाँ हुने उत्पादन नेपालमा खपत गर्न सकिन्छ । तर, निर्यात गर्दा निकै महंगो पर्न आउँछ । नेपालमा गुणस्तरीय उत्पादन गर्न सकिन्छ भने यहाँ खपतको समस्या छैन किनकी ठूलो बजार छ ।

म ल्युब आयल उत्पादन र ब्लेन्ड पनि गर्छु । हामीले गुणस्तरीय उत्पादन दिँदा ग्राहकवर्गमा हामीप्रति विश्वास छ । यसरी नै नेपाल उत्पादन हुने गाडी, ब्याट्री टायर यहीँ खपत गराउन सकिनेमा म विश्वस्त छु ।
यही एसेम्बल गरेका सुजुकीको गाडी नेपाली जनताले चढ्न पाउने विषयमा म विश्वस्त छु । यसविषयमा अध्ययन पनि भइसकेको छ । सरकारले केही नीतिगत पूर्णता दिन आवश्यक छ ।

तर, म कहिले र कसरी भन्ने खुलाउन चाहन्नँ । मलाई चुनावको मुखैमा यस्ता विषय खुलस्त पार्दा चुनावी एजेन्डा र प्रचारको रुपमा पनि लिने गरिन्छ ।
म जे सम्भव छ, त्योमात्र सपना देख्छु । यहाँ गाडी बनाएर निर्यात गर्ने सोचेको छैन । उत्तर र दक्षिणमा उत्पादन लागत जति कम छ, नेपालमा त्यतिमा सम्भव छैन ।

युवा व्यवसायीलाई सन्देश
बोल्नेभन्दा सुन्ने बढी गर्नुपर्छ । काम गर्ने, मुख सानो बनाउने र कान ठूलो बनाउनुपर्छ । मुख मुसाको जत्रो र कान हात्तीको जत्रो बनाउनुपर्छ । सिक्नका लागि आफ्नो खर्च गर्नु हुँदैन । अर्काको काम गरेर सिक्नुपर्छ । र, आफूले लगानी गरेपछि नाफा कमाउन थाल्नुपर्छ । अरुको कम्पनीमा काम गर्नुस्, आफ्नो सम्भावित गल्ती पहिल्याउनुस् । गल्ती अरुको पैसामा गर्नुस्, आफ्नो पैसामा नगर्नुस् ।
 

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) करण चौधरी

विशेष