सिटौलालाई मिलाउन नसके सभापति जित्न नसकिने देउवाको निस्कर्ष
नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन दुई दिन बाँकी छ। नेताहरु दौडधुपमा छन् । नेताहरु विभिन्न समुहमा वाँडिएका छन्। सभापतिको पद आफनो पक्षमा पार्ने प्रतिस्पर्धा छ।
प्रतिस्पर्धामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोईराला, कृष्णप्रसाद सिटौलालगायतका नेता छन् । कसलाई आफुतिर तान्दा सभापति जित्न सहज हुन्छ भन्ने रणनीतिमा वनाउन नेताहरु लागि परेका छन् ।
यही रणनीति वनाउने क्रममा शेरवहादुर देउवका लागि भने पूर्वमहामन्त्री सिटौला निर्णायक देखिएका छन् । सिटौलाले देउवालाई पहिलो चरणमै सभापतिमा जिताउने ल्याकत राख्छन् ।
देउवाको विश्लेषण अनुसार उनीसँग पुगनपुग ५० प्रतिशत मत छ। विधान अनुसार सभापति वन्न ५० प्रतिशत भन्दा माथि मत आवश्यक छ। आफुसँग कम हुने मत सिटौलाले सहयोग गरे आफु पहिलो चरणमै सभापति निर्वाचित हुने आंकलन उनले गरेका छन् ।
तेह्रौ महाधिवेशनमा पनि सिटौलाले यसरी नै देउवालाई सभापति वनाएका थिए । तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला आ–आफनै प्यानल वनाएर सभापतिको दौडमा थिए ।
तर, पहिलो चरणको मतदानमा कसैले पनि पचास प्रतिशत मत नघाउन सकेन। देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत पाए। ११ मतले पहिलो चरणमा चुनाव जित्न नपाएपछि दौडवाट अलग भएका सिटौलासँग देउवाले हात मिलाए ।
त्यसो गर्दा दोस्रो चरणको चुनावमा देउवा १८२२ मत ल्याएर विजयी भए भने पौडेलले १२९६ मत पाए ।
सिटौला अहिले पनि निर्णायक रहेको देउवाको बुझाइ छ। त्यसैले सभापतिबाहेक जुनसुकै पद मागे पनि दिएर सिटौलालाई आफु पक्षमा मिलाउने योजनामा देउवा लागेका छन्।
त्यसो त वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सिटौलालाई कनाउन सुरु गरी सकेका छन् । रामचन्द्र पौडेल पक्ष पनि कांग्रेसमा वलियो शक्तिका रुपमा अगाडि आएको छ। सिटौलासहितको टिम पौडेलले वनाउन सक्ने हो देउवालाई हम्मे हम्मे पर्ने नेताहरु वताउँछन् ।
बुधबार पनि सिटौलालाई भेट्न पौडेल उनकै निवास चण्डोल पुगेका थिए। अनुपम फुडल्यान्डमा आफूपक्षीय नेताहरुको भेला भइरहेको बेला खाना खान भन्दै निस्किएका पौडेलले सिटौलालाई भेटेर आफूलाई सघाउन आग्रह गरेका थिए। सिटौलाले भने आफू छलफलमै रहेकाले यस विषयमा अहिले कुनै निर्णय नदिने बताएको उनी निकट एक नेताले जानकारी दिएका छन् ।
कांग्रेस नेताहरुका अनुसार वुधवारसम्म महाधिवेशनमा ४ हजार ३१९ प्रतिनिधि सहभागी हुने निश्चित भइसकेको छ। त्यसमाथि प्रवास लगायतका केही स्थानबाट आउन बाँकी संख्या जोड्दा प्रतिनिधिको संख्या ४५ सयमाथि हुनेछ।
देउवा पक्षको वुझाई अनुसार सिटौलासँग ७ प्रतिशत मत छ। यही मत मिलाउन सके आफू पहिलो चरणमै विजयी हुने देउवाको विश्लेषण छ। त्यही भएर उनी सिटौलालाई सकभर मिलाएर अघि बढ्न खोजिरहेका छन्। प्रदेश १ र बागमती प्रदेशमा देउवाले सिटौलासँग मिलेर चुनाव जितेका थिए। सिटौलासँग मिल्दा अन्य नेताहरुको व्यवस्थापन पनि सहज हुने उनको बुझाइ छ।
तर, सिटौला भने यस पटक पनि आफ्नै प्यानलसहित चुनाव लड्ने तयारीमा छन् । उनले आफूलाई फकाउन आएका देउवा र पौडेललाई निश्चित प्रतिशत मागेर वार्गेनिङ्ग समेत गरिरहेका छन् ।
देउवाले २५ प्रतिशत र पौडेल समूहले ३३ प्रतिशतसम्म दिएमा दुईमध्ये एक समूहसँग महाधिवेशनमा कार्यगत एकता गरेर चुनाव लड्ने विकल्प पनि सिटौला समूहले बनाएको उनी निकट नेता वताउँछन् ।
नेपाली काँग्रेस १४औं महाधिवेशन रामचन्द्र पौडेल शेरबहादुर देउवा कृष्णप्रसाद सिटौला