सरकार झ्यालखानाको संख्या थप, किनकी सत्यको पक्षमा बोल्ने मुख तिम्रो त्रासले बन्द हुँदैनः गगन
राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै नेकपा प्रचण्ड–माधव समुहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेसँगै चौतर्फी आलोचना सुरु भएको छ ।
प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ ।
पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
झाँक्री पक्राउ परेसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको बताएका छन् । बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिएको बताए।
गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ । झाँक्रीलाई पक्राउ गर्न लागिएपछि उनको निवासमा भेला भएका नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले विरोध जनाएका थिए । उनीहरूले सरकार र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।
नेपाली कांग्रेसका नेता गगन थापाले पनि त्यसको कडा आलोचना गरेका छन् । ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!’ उनले ट्वीटरमा लेखेका छन्–‘सरकार झ्यालखानाको संख्या थप, किनकी सत्यको पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’