‘झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक छन्, उनलाई कानुन लाग्छ कि लाग्दैन?’
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रामकुमारी झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक रहेको वताएका छन् । मिश्रले सामाजिक सञ्जाल मार्फत झाँक्रीको बिनासर्त रिहाईको पनि माग गरेका छन् ।
मिश्रले ट्वीटरमा लेखेका छन्, ‘जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पु¥याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानुन हुन्छ। रसातलको राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक छन्। उनलाई कानुन लाग्छ कि लाग्दैन?’
यसैविच, प्रहरीले राज्यविरुद्ध कसुरमा अनुसन्धानका लागि भन्दै निवासवाट पक्राउ परेकी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई जिम्मा लिईदिन नेता योगेश भट्टराईलाई आग्रह गरेको छ ।
महानगरीय प्रहरी महाशाखा पुगेका प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईलाई महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई आफ्नो रोहवरमा बुझेर लैजान आग्रह गरेका हुन् । भट्टराईले भने राज्य विरुद्धको कसूर लगाएर पक्राउ गरिसकेकाले व्यक्तिगत रुपमा जिम्मा लिन इन्कार गर्दै निशर्त छाड्नुपर्ने जवाफ दिएका छन् ।
केहि दिन अघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे बोलेको विषयलाई लिएर उजुरी परेको भन्दै महाशाखाले नेतृ झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर उनले यो राजनीतिक विषय भएको भन्दै पक्राउ पूर्जी ल्याउन आग्रह गरिन् ।
लगत्तै महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी दिएर निवासबाटै गिरफ्तार गरेको थियो ।