बालिकालाई यौनकार्यमा लगाउने महिलासहित दुई जना पक्राउ
जनकपुरमा १३ वर्षिया बालिकालाई यौनकार्यमा संलग्न गराएको आरोपमा एक महिलासहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको लक्ष्मिनिया गाउँपालिकाकी १३ वर्षीया बालिकालाई गत असारदेखि पटक–पटक वलात्कार गरेको आरोपमा स्थानीय शम्भु भन्ने ओमनारायण यादव र वलात्कारमा सहयोग गरेको आरोपमा मुस्कान खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार असारदेखि कात्तिकसम्म पीडितकै घरमा डेरागरी बस्दै आएकी मुस्कानले बालिकालाई आफ्नो कोठामा सुताउँदै आएकी थिइन् । सोही क्रममा अभियुक्त भनिएका ओमनारायणलाई घरमा बोलाई वालिकालाई यौनधन्दामा लगाएको प्रहरीको भनाइ छ ।
बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको हो । अनुसन्धानको क्रममा आरोपितहरूले कसुर स्वीकार गरिसकेको र म्याद थप गराई थप अनुसन्धान भइरहेको उनले बताए ।